बाथरुममा ग्यास लिक हुँदा दिदीबहिनीको मृत्यु

डिसी नेपाल
६ माघ २०७६ १०:४१

काठमाडौं। १७ र २४ वर्षका दुई दिदीबहिनीको मृत्यु कथित रुपमा बाथरुममा खतरनाक ग्यास लिक भएका कारण भएको छ । यो घटना पाकिस्तानको पंजाब प्रान्तको दौलत नगरको हो । बेलायती मिडिया मिररका अनुसार दुवै दिदीबहिनी बेलायती नागरिक हुन् र उनीहरु आफ्ना हजुरबुवाको पुण्यतिथिको अवर पारेर पाकिस्तान आएका थिए ।

समाचारमा जनाइएअनुसार बाथरुममा गिजरबाट ग्यास लिक भएका कारण २४ वर्षकी मारिया र १७ वर्षकी नादिरा रहमानको मृत्यु भएको हो । दुवै घरको भुइँमा लडेको अवस्थामा भेटिएका थिए । १२ जनवरीमा भएको मृत्युको समाचार अन्तर्राष्ट्रिय मिडियामा अहिले मात्र आएको हो । पाकिस्तानी अधिकारीहरुले घटनाको जाँच भइरहेको बताएका छन् ।

पोष्टमार्टम रिपोर्टसँग सम्बन्धित जानकारी अझै सार्वजनिक गरिएको छैन । पाकिस्तानी मिडियाका अनुसार अभिभावकले दुवै दिदीबहिनीको मृत्यु दुर्घटनामा भएको मानेका छन् र कानुनी कारवाहीबारे विचार गरिरहेका छन् । पाकिस्तानमा रहेका यी दिदीबहिनीका आफन्त भने घटनाको कैयौं दिन भइसक्दा समेत यस विषयमा कुरा गर्नबाट पछि हटिरहेका देखिएका छन् ।

आफन्तले यस विषयमा कुरा गर्न नमानेपछि सामाजिक संजालमा विभिन्न हल्ला फैलिएका छन् । केहीले भने यी दिदीबहिनीको ‘अनर किलिङ’ (प्रतिष्ठा जोगाउन परिवारबाटै हत्या) भएको मानेका छन् । यी दिदीबहिनीकी सौतेनी आमाले भने आरोप अस्वीकार गरेकी छिन् । बेलायतको शेफिल्डमा बस्ने दिदीबहिनीका छिमेकीले भने दिदीबहिनीको मृत्यु भएको थाहा पाएको तर मृत्युको कारण स्पष्ट नभएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *