उपसभामुखको दौडमा कांग्रेस र राजपा, कसकाे स‌ंभावना बलियाे ?

डिसी नेपाल
९ माघ २०७६ ७:४६

काठमाडौं। नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेद्वारी दिने तयारी गरेको थियो। तर अन्तिम अवस्थामा आएर सभामुखमा कांग्रेसले उम्मेद्वारी दिएन। नेकपा बाहेक अन्य दलले उम्मेद्वारी नदिएपछि नेकपा उम्मेद्वार अग्नि सापकोटा निर्विरोध भएका छन्।

कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिएर उपसभामुख आफूलाई चाहिने संकेत गरेको छ। कांग्रेसले उपसभामुखमा भने उम्मेद्वारी दिने तयारी गरेको छ। यसले उपसभामुख आफूले पाउने रणनीतिअनुरुप नेकपासँग छलफल सुरु गरेको छ।

मंगलार यही विषयमा छलफल गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए। पौडेलले उपसभामुखमा कांग्रेसलाई प्रस्ताव गर्न प्रचण्डसँग आग्रह गरेको स्रोतले जनाएको छ।

नेकपाले राजनीतिक संस्कार देखाउन भएपनि मुख्य विपक्षी दललाई उपसभामुख दिनुपर्ने काँग्रेसका नेता पौडेलले बताएका थिए। जवाफमा अध्यक्ष प्रचण्डले यसबारेमा पार्टीभित्र छलफल गरेर मात्रै अघि बढ्न सकिने जवाफ दिए।

माघ १२ गतेको संसद् बैठकले सभामुखको औपचारिक घोषणा गर्ने र सभामुखले सपथ लिएपछि बस्ने संसद् बैठकले उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउनेछ।

उता सरकार बाहिर रहेको तर सत्तारुढ नेकपालाई सघाउँदै आएको राजपाले पनि उपसभामुखको आकांक्षी देखिएको छ। प्रमुख प्रतिपक्षि नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल भने मौन देखिएका छन्।

गत पुस २ गते सत्तारुढ दल नेकपा र राजपाबीच राष्ट्रिय सभा चुनावका लागि सहकार्य गर्ने सहमति भएसँगै उपसभामुखमा नेकपाले राजपालाई सघाउने संकेत देखिएको छ।

सभामुखको उम्मेदवारी दर्ताका क्रममा सापकोटाको समर्थकमा राजपा नेता लक्ष्मणलाल कर्ण बस्नुले उपसभामुख राजपालाई दिने नेकपा र राजपाबीच भित्री सहमति भएको हुन सक्ने आँकलन गरिएको छ।

सभामुखको उम्मेदवार बनेका अग्नि सापकोटाको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा कर्णसहित देव गुरुङ र ओनसरी घर्तीमगर बनेका थिए । फरक दलबाट राजपा नेपाल सभामुखको समर्थक बनेपछि उपसभामुख उसैले लिने देखिएको हो।

सभामुख र उप–सभामुखमा फरक–फरक लिंग र फरक–फरक दल हुनुपर्ने संवैधानीक प्रावधान रहेकाले नेकपाबाट अग्नि सभामुख हुने पक्का भएपछि उपसभामुख फरक दल र महिला नै हुनुपर्ने अवस्था पनि सृजना भएको छ। अब १२ गतेको संसद् बैठकबाट सभामुख निर्वाचित भएपछि मात्रै उपसभामुखको गृहकार्य अघि बढ्ने बताइएको छ।

राजपाभित्र उपसभामुखको उम्मेदवारको रुपमा चन्दा चौधरी र अमृता अग्रहरीको नाम चर्चामा छ। उपसभामुख राजपाले पाउने निश्चित भए अग्रहरी भन्दा चौधरी नै उपसभामुखमा पार्टीबाट सिफारिस हुने सम्भावना रहेको राजपाका एक नेताले बताए।

चौधरी पार्टी नेता महन्थ ठाकुर निकट रहेकाले सम्भावना उनैको देखिएको ती नेताको दाबी छ। तर अध्यक्ष मण्डलले निर्णय गरेर पठाउने भएकाले निर्णयपछि मात्रै त्यसबारे जानकारी हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *