सय वर्ष पुरानो पुस्तक पसल बन्द हुने संघारमा थियो, एउटा ट्वीटले एक दिनमै चमत्कार !

डिसी नेपाल
९ माघ २०७६ ११:२२

लण्डन। बेलायतमा सय वर्ष पुरानो एउटा पुस्तक पसल बन्द हुने संघारमा पुगेको थियो । तर, विश्वप्रसिद्ध अंग्रेजी उपन्यासकार तथा फिक्सन लेखक नील गायम्यानले सिलका मालिकको एउटा ट्वीटलाई रिट्वीट गरिदिएपछि पसलको व्यापार एक दिनमै हजार गुणा बढेको छ ।

पूर्वी हेम्पशायर जिल्लाको पिटर्सफिल्डको सबैभन्दा पुरानो पिटर्सफिल्ड बुक शपका मालिकले यही साता आफ्नो पसलका केही फोटो ट्वीटरमा अपलोड गर्दै सन्देश लेखे ‘हाम्रो पसल बन्द हुने संघारमा छ । पसल किताबहरुले भरिएको छ तर विगत एक महिनादेखि एउटा पनि किताब बिकेको छैन । हामी निकै समस्यामा छौं र पसलमा ताला लगाउन गइरहेका छौं ।

मुटुसम्म नै झक्झक्याउने यो ट्वीटलाई दर्जनौंले रिट्वीट गर्दै पसल मालिकलाई धैर्य गर्न सल्लाह दिए । नील गायम्यानले यो ट्वीटलाई पसलको फोटोसहित रिट्वीट गर्दै पसल बन्द नगर्न सल्लाह दिए साथमा फलोअरहरुलाई सहयोग गर्न भने । गायम्यानको यो आग्रहलगत्तै यति ठूलो परिमाणमा किताब अनलाइन बुक हुन थाले कि पसल मालिक चकित परे । बुकिङ गर्नेहरुको बाढी नै आएको थियो । एक दिनमै २० हजारभन्दा धेरै पुस्तक बुक भइसकेका थिए ।

पसल मालिकले ट्वीटर प्रयोगकर्ताहरुले सहयोग नगरेको भए पसल जोगिन नसक्ने बताएका छन् । उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । पसल बचाउन अर्डर दिने सबैलाई धन्यवाद दिँदै उनले आफूहरुले अक्सीजन पाएको बताएका छन् । उनले अब २५ प्रतिशत छुटसहित केही अन्य स्किम पनि सुरु गर्न लागेको बताए । आइतबार पसल बन्द रहने गरेकोमा अब आइतबार साना लेखक तथा प्रकाशकलाई प्रोत्साहनका काम गर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *