फुटबल समर्थकहरूलाई खेल भइरहेका बेला खतरनाक तनाव हुने

डिसी नेपाल
१० माघ २०७६ १८:३७

बीबीसी । फुटबलमा अति लगाव राख्ने समर्थकहरूलाई खेल भइरहेका बेला गहिरो तनाव हुने र आफ्नो टोलीको खेल हेर्दा हृदयाघात हुनेसम्मको खतरामा आफूलाई पार्ने एक अनुसन्धानले देखाएको छ।

अक्सफोर्ड विश्वविद्यालयको अध्ययनले ब्राजील–जर्मनीबीच सन् २०१४ को विश्वकप सेमीफाइनलको ऐतिहासिक खेलमा समर्थकहरूको थुकको परीक्षण गरेको थियो।

ब्राजील ७–१ गोलअन्तरले हारेका बेला ब्राजीलका सर्मथकहरूमा कोर्टिसोल हार्मोन अत्यधिक बढेको पाइएको थियो। त्यस्तो हुँदा रक्तचाप बढ्ने र मुटुमा तनाव बढ्ने हुनाले त्यो अवस्था खतरनाक हुन सक्छ।

पुरुषहरू आफूले समर्थन गरेको फुटबल क्लबसँग धेरै लगाव राख्ने आमधारणा भएपनि खेलका बेला महिला र पुरुषमा हुने तनावको तहमा कुनै भिन्नता फेला नपरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

‘खासगरी आफ्नो टोलीसँग अति लगाव राख्ने र आफ्नो समूहकै अभिन्न अङ्ग ठान्नेहरूले खेल हेर्दा तीव्र तनाव झेल्छन्,’ अक्सफोर्ड विश्वविद्यालयको सेन्टर फर द स्टडी अफ सोसल कोहेसनकी अनुसन्धानकर्ता डा. मार्था न्यूसनले भनिन्। ‘साधारण समर्थकहरूले पनि तनाव महसुस गर्छन् तर प्रतिबद्ध समर्थकको तुलनामा त्यो अत्यधिक हुँदैन।’

कोर्टिसोल हार्मोनको तह लामो समयसम्म धेरै रह्यो भने त्यसलेः

  • रक्त कोषिकाहरू खुम्च्याउन सक्छ।
  • रक्तचाप बढाउन सक्छ।
  • पहिले नै कमजोर भइसकेको मुटुमा क्षति पुर्‍याउन सक्छ।

कोर्टिसोल बढ्दा मानिसहरूमा खतरा आएको या उनीहरूको जीवन खतरामा परेको वा उनीहरू आक्रमणमा परेको महसुस हुन सक्छ। यसअघि अनुसन्धानहरूले महत्त्वपूर्ण खेल भएका दिनहरूमा समर्थकहरूमा हृदयाघात हुने क्रम बढेको देखाएका छन्।

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तीनवटा फुटबल विश्वकपका चालीस समर्थकहरूको खेल हुनुअघि, भइरहेका बखत र खेल सकिएपछि थुकको परीक्षण गरेका थिए।

सबभन्दा धेरै तनाव सेमीफाइनलका बेला भएको पाइयो। डा। न्यूसनले बीबीसी न्यूजलाई भनिन्, ‘त्यो त्रासपूर्ण खेल थियो। त्यसैले धेरै मानिसहरू रुँदै बाहिर निस्किए।’

तर समर्थकहरूले ठट्टा गरेर र एक अर्कालाई अङ्कमाल गरेर तनावसँग झेल्ने उपाय पनि प्रयोग गरेका थिए। यसले कोर्टिसोलको तह खेल सुरु हुनु अगाडिको अवस्थामा पुर्‍याइदिएको उनले बताइन्।

डा। न्यूसनले रङ्गशालाहरूले खेल सकिएपछि उज्यालो कम गर्न र शान्त बनाउने किसिमका सङ्गीत बजाउन सुझाव दिएकी छन्। ‘क्लबहरूले खेलका बेला तनाव बढ्ने खतरामा रहने प्रतिबद्ध समर्थकहरूका लागि मुटु जाँच गराउने या अन्य किसिमका स्वास्थ्य जाँच सुविधा उपलब्ध गराउने गर्न सक्छन्,’ उनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *