टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

डिसी नेपाल
११ माघ २०७६ १०:५८

बीबीसी । टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पमा परेर १८ जनाको ज्यान गएको छ भने सैयौँको सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन्। रिक्टर स्केलमा ६.८ म्याग्निट्यूड नापिएको उक्त भूकम्पका कारण भवनहरू भत्किएका छन्।

भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ। टर्कीमा भूकम्पलाई स्वाभाविक मानिन्छ। सन् १९९९ मा गएको ठूलो भूकम्पमा परेर करिब १७ हजारले ज्यान गुमाएका थिए।

स्थानीय समय अनुसार ८ बजेर ५५ मिनेटमा भूकम्प महसुस गरिएको बताइएको छ। टर्कीको डिजास्टर एण्ड इमरजेन्सी म्यानेजमेन्ट अथोरिटीका अनुसार हालसम्म ६० पटक परकम्प गएको छ।

भूकम्प प्रभावित क्षेत्रमा ४०० भन्दा बढी उद्धारकर्ताहरू बिछौना र टेन्ट बोकेर जाँदै छन्। सरकारले भूकम्पले प्रभावित घरमा नजान सर्वसाधारणहरूलाई आग्रह गरेको छ।

“त्यो निकै डरलाग्दो थियो। हामी माथि सामान खस्यो। र हामी बाहिर भाग्यौँ,” एएफपी समाचार संस्थाले ४७ वर्षीय मेलाहन्ट क्यानले भनेको उल्लेख गरेको छ।

भूकम्प गएको क्षेत्र राजधानी अङ्काराबाट करिब ५५० किलोमिटर पूर्वतिर पर्छ र त्यो क्षेत्रको जनसङ्ख्या त्यति धेरै छैन जस कारण क्षति र मृत्यु हुनेको सङ्ख्याबारे थप विवरण आउन समय लाग्न सक्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *