दुर्गममा लाग्दैनन् चिकित्सकका आँखा

डिसी नेपाल
११ माघ २०७६ १७:०६

जाजरकोट । सुगमका आँखाले दुर्गम नदेख्दा जाजरकोटको स्वास्थ्य सेवा समस्यामा पर्दै आएको छ । पैसट्ठी जना दरबन्दी भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा अहिले मुस्किलले कार्यालय सहयोगीसहित तेइस जना स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन् ।

सधैँ दुर्गममात्र भनेर सेवा दिन आनाकानी गर्ने शैलीका कारण यहाँको स्वास्थ्य सेवा समस्यामा पर्दै आएको हो । ४२ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएपछि स्वास्थ्य सेवा कार्यालय करार र प्रशिक्षार्थी स्वास्थ्यकर्मीको भरमा चलिरहेको छ ।

अस्पतालमा सातजना विशेषज्ञसहित पैसट्ठी जनाको दरबन्दी छ तर विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, पूर्वाधार र उपकरण लगायतको अभाव भएपछि सामान्य बिरामीसमेत जिल्लाबाहिर गएर उपचार गराउन बाध्य छन् । अस्पताललाई चार वर्षअघि १५ बाट ५० श्ययामा स्तरोन्नति गरिएको थियो । जनशक्ति तथा उपकरण नहुँदा अस्पताल आफैँ रोगीजस्तो बनेको स्थानीयवासीको आरोप छ ।

स्वास्थ्यकर्मीको समायोजनले अस्पताल जनशक्तिको अभावमा गुज्रिएको हो । अहिले अस्पतालमा कार्यालय सहयोगीसहित २३ जनामात्र स्वास्थ्यकर्मी कार्यरत छन् । आठ स्टाफ नर्सको दरबन्दी रहेकामा एकजना मात्र कार्यरत छिन् ।

विशेषज्ञ चिकित्सकको दरबन्दी खाली

स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सातजना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर कुनै पनि विशेषज्ञ चिकित्सक अस्पतालमा छैनन् । तीन मेडिकल अधिकृत र एकजना आयुर्वेद चिकित्सकको दरबन्दी पनि रिक्त छ ।

त्यस्तै मेडिकल ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक पद लामो समयदेखि खाली छ । पब्लिक हेल्थ नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याब असिस्टेन्ट र तीन अहेबको दरबन्दीसमेत रिक्त रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रवीन भुसालले बिरामीको सङ्ख्या दिनदिनै बढिरहेको बताए। उनले भने, “दैनिक १५० जनासम्म बिरामी आउने गरेका छन, दरबन्दीअनुसारको चिकित्सक छैनन्, समस्या हुँदै आएको छ ।” स्वास्थ्यकर्मीलाई समयमै तलब र अतिरिक्त भत्ता दिन नसक्दा भएका जनशक्तिको पनि सदुपयोग हुन नसकेको उनको भनाइ छ ।

अस्पतालमा स्वास्थ्य बीमाको औषधि सकिएको र अन्य औषधि आपूर्ति नभएको उनले बताए। अहिले स्वास्थ्य बीमा गरेका बिरामीले औषधि नपाउँदा समस्या हुँदै आएको छ । उनका अनुसार प्रदेश सरकारले कर्णालीमा काम गर्ने स्वास्थ्यकर्मीलाई १३५ प्रतिशतसम्म थप प्रोत्साहन भत्ता दिने निर्णय गरे पनि स्वास्थ्यकर्मी आउने छाँटकाँट देखिएको छैन ।

कर्णाली प्रदेश सरकारले जनस्वास्थ्य, जिल्ला अस्पताल र जिल्ला आयुर्वेद औषधालयलाई एउटै कार्यालय बनाएपछि व्यवस्थापन झन् लथालिङ्ग छ । जनशक्ति पूर्ति र उपकरणको व्यवस्था नगर्दा अस्पताल नाम मात्रको बनेको अध्यक्ष बस्नेतको गुनासो छ ।

नयाँ भवनका लागि बोलपत्र आह्वान

स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको सेवा प्रवाह प्रभावकारी बनाउन भन्दै दुई हप्ताअघि मात्र भवन निर्माणका लागि झण्डै ३१ करोडको बोलपत्र आह्वान गरिएको छ । २०३१ सालका पुराना भवन विस्थापित गरी नयाँ भवन निर्माण गर्ने उद्देश्यले बोलपत्र आह्वान गरी अबको दुई महिनाभित्र निर्माणको काम शुरु हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए। अस्पताल निर्माण गर्दा सेवा अवरुद्ध हुन नदिनका लागि दुईवटा भवन कर्णाली प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको उनले बताए।

सेवा प्रभावकारी बनाउन एम्बुलेन्स खरिद गरिँदै

स्वास्थ्य सेवा कार्यालयमा एम्बुलेन्स नहुँदा समस्या परेको भन्दै एम्बुलेन्स खरिदको काम शुरु गर्न लागिएको छ । रु २५ लाख मूल्य बराबरको एम्बुलेन्स खरिद गर्नका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउन लागेको निमित्त प्रमुख रबिन भुसालले जानकारी दिए । त्यस्तै स्वास्थ्य बीमा र अन्य औषधि खरिद प्रक्रिया यही सातादेखि शुरु हुन लागेको पनि उनले जानकारी दिए।

अझै दुर्गमको डर ?

जाजरकोटमा विगत भएको विभिन्न रोग तथा समस्यालाई हेरेर यहाँ कर्मचारीहरु आउन नमानेको विभिन्न फोरममा सुन्न पाइन्छ तर जाजरकोट सुनेको र सोचेको जस्तो दुर्गम नभई अहिले सबै ठाउँमा यातायातको सहज पहुँच, टेलिफोन सेवा विस्तार, तीनवटा राणनीतिक सडकको बीचमा रहेका छ । जाजरकोटका प्रजिअ जनकराज पन्तले भने, “शुरुमा जाजरकोट भन्ने बित्तिकै अलि असहज लागे पनि जाजरकोट पुग्दा हाम्रो दिमागमा जाजरकोटप्रति बनेको धारणा गलत रहेको थाहा पाए, त्यसैले यहाँ आउन पाउनु सबैका लागि भाग्य नै हो । सुर्खेत र नेपालगञ्ज चार घण्टामा पिच सडकमा गुडेर पुग्न सकिन्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *