पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या

सांकेतिक तस्विर।


राजशाही (बङ्गलादेश)। समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन्। बङ्गलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा मनोविद्ले सो कुरा औल्याउँदै मानसिक स्वास्थ्यसम्बन्धीको विषयलाई बेवास्ता नगरी प्रभावकारीरूपमा लैजानुपर्नेमा जोड दिएका छन्।

मनोचिकित्सक, मनोविद्, विज्ञ तथा मनोविज्ञानको क्षेत्रमा काम गरिरहेका व्यक्ति र अध्ययनकर्ताले हरेक देशमा समस्याको पहिचान गरी सोही आधारमा उपचारात्मक पद्दति अपनाउनु आग्रह समेत गरेका छन्।

सम्मेलनको दोस्रो दिनको सत्रमा नेपाली प्रतिनिधिले प्रस्तुत गरेको कार्यपत्रले समेत समस्याको पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने विषयलाई जोड दिएको छ। समयमै पहिचान गर्न सके अपाङ्गता भएका व्यक्तिहरुले सार्थक जीवन जीउनसक्ने विज्ञ, मनोविद् तथा मनोविमर्शकर्ताको भनाइ छ।

‘दक्षिण एशियामा अपाङ्गता र सांस्कृतिक लचकताको अवस्था’को विषयमा कार्यपत्र प्रस्तुत गर्दै द स्कूल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष पदमराज जोशीले नेपालमा भएको असल अभ्यास र चुनौतीका विषयमा जानकारी गराएका थिए।

मानिस कुनै घटनाबाट आघात भएको अवस्थाबाट पहिलेकै अवस्थामा आउनु नै सांस्कृतिक लचकता हो। दक्षिण एशियामा सांस्कृतिक लचकता अन्य विश्वको तुलनामा बलियो देखिए पनि अनुसन्धानको अभावले वास्तविक अवस्था पत्ता लाग्न सकेको छैन।

नेपालको सन्दर्भमा केही नगन्य अनुसन्धान भए पनि व्यवहारतः ती अनुसन्धान आमरूपमा शोधकर्ता, विद्यार्थी र अनुसन्धानकर्ताको रुचि कम भएको उनले बताए।

त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक खेमराज भट्टले परीक्षाको चिन्ताले जिपिएमा नकारातमक असर पर्ने देखिएको भन्दै यसतर्फ सतर्क हुने बेला आएको औँल्याए।

‘निजी विद्यालयका विद्यार्थीमा परीक्षासम्बन्धी चिन्ता र शैक्षिक उपलब्धि’, विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले भक्तपुरमा सातदेखि १० कक्षाका विद्यार्थीसँग गरिएको अध्ययनमा यस्तो पाइएको बताए। भक्तपुरको ४४५ विद्यार्थीमा उक्त अध्ययन गरिएको थियो।

प्राध्यापक डा उषाकिरण सुब्बाले नेपालमा ज्येष्ठ नागरिकमा देखिएको उदासिनताको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। उनले अध्ययनका क्रममा एक्लोपनाको सोचाइ आउनु, परिवारको प्रिय व्यक्ति गुम्नु, मृत्युको भय हुनु जस्ताकारणहरुले ज्येष्ठ नागरिकमा उदासिन (डिप्रेसन) हुने गरेको पाइएको बताइन्।

द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले ‘दक्षिण एशियामा अपाङ्ता र आत्महत्या रोकथामको अभ्यास’को विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनीहरुको समस्या बेलैमा पहिचान गर्न सके आत्महत्याबाट जोगाउन सकिने बताए।

उनले विश्वभरिका अपाङ्ता भएका व्यक्तिमा देखिएको मानसिक स्वास्थ्य समस्याजस्तै दक्षिण एशियामा पनि सामान्य मानिसभन्दा अपाङ्गता भएका व्यक्तिमा मानसिक समस्या बढी रहेको बताए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १५ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। नेपालमा कूल जनसङ्ख्यामा १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्क छ।

सैनिक आवासीय महाविद्यालय चितवनका शैक्षिक संयोजक गोपीलाल श्रेष्ठले मानसिकरूपमा विशेष क्षमता भएका बालबालिकाको क्षमता पहिचान गर्न सोही बमोजिम शिक्षक, अभिभावक र विद्यालयले आवश्यक आधारभूत तयारी गर्नुपर्ने आवश्यकता रहेको बताए।

सम्मेलनमा नेपाललगायत मलेशिया, चीन, स्पेन, बङ्गलादेश, अमेरिका, भारत, जापान, पोर्तुगल, श्रीलङ्का र स्वीडेनका ५०० प्रतिनिधि सहभागी थिए। अपाङ्गता भएकाको मानसिक स्वास्थ्यको वर्तमान अवस्था र समस्या समाधानमा अपनाउन सकिने उपायका बारेमा सम्मेलनमा छलफल भएको थियो। सामाजिक वैयक्तिक विकासका लागि सहकार्य (सिभ्यूस इन्टरनेशनल) को आयोजनामा उक्त सम्मेलन भएको थियो।

विश्वव्यापीरूपमा अपाङ्गता भएका व्यक्तिको मानसिक स्वास्थ्यसँगै उनीहरुको गुणस्तरीय जीवन निर्माण गरी मानवअधिकार संरक्षणको विषयमा संस्थाको ध्यान रहेको सिभ्यूस इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष डा काट्सुहिरो यामासिताले बताए।

उपाध्यक्ष प्राध्यापक डा एन्टोनियो पिन्टो मोटेरियोले सिभ्युसले अवलम्बन गरेको कार्यपद्धति वर्तमान समयमा उपयोगी रहेको जानकारी दिए।
शुक्रबार र शनिबार भएको सम्मेलनमा छ मुख्य विषयमा विभिन्न विज्ञ तथा प्राध्यापकले ६० कार्यपत्र प्रस्तुत थिए ।

सम्मेलनमा ‘ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या’ (डिमेन्सिया), ‘आत्महत्या रोकथाम’, ‘मनोविज्ञानको ऐतिहासिक विकासक्रम र बङ्गलादेशको वर्तमान अवस्था’, ‘अटिजम्को समस्या भएका बालबालिकाको हेरचाह गर्दा हुने तनाव व्यवस्थापन’, ‘डाइलेक्टिक विहेवियर थेरापी’ र ‘बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि व्यावसायिक सीप र सामाजिक सहभागिता’ सम्बन्धी मुख्य विषयमा छलफल भएको थियो।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position