भारतीय सवारी रोकिँदा सर्लाही सीमामा तनाव, दुवै पक्षबीच छलफलपछि अवस्था सामान्य
सर्लाही। सर्लाही जिल्लासँग जोडिएको भारत-नेपाल सीमामा पर्ने भारतको सोनबरसा थाना क्षेत्रस्थित इन्दरवा गाउँ नजिक शुक्रबार दिउँसो भएको एक घटनाले सीमा क्षेत्रमा केही बेर तनावको अवस्था सिर्जना गर्याे। नेपालतर्फ रहेको आफ्नो खेततर्फ जाँदै गरेका एक भारतीय नागरिकको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विवाद सुरु भएको हो।
घटनापछि आक्रोशित भारतीय नागरिकहरूले प्रतिक्रिया स्वरूप केही नेपाली नागरिकका मोटरसाइकलहरू समेत नियन्त्रणमा लिन थालेपछि अवस्था थप जटिल बनेको थियो। दुवै पक्षबिच बढ्दो तनावलाई नियन्त्रणमा लिन तत्काल नेपाल र भारतका सुरक्षाकर्मीबीच छलफल गरिएको थियो।
छलफलपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता गरेसँगै स्थिति सामान्य बनेको स्थानीय स्रोतले जनाएको छ।
स्थानीयका अनुसार भारतको इन्दरवा क्षेत्रका बासिन्दाहरूको सयौँ बिघा जमिन नेपालतर्फ सखुअवा, नोकैल्वा, पर्सा र पिपरा सरेह क्षेत्रमा फैलिएको छ, जहाँ उनीहरूले वर्षौँदेखि खेतीपाती गर्दै आएका छन्। दैनिक रूपमा सीमा पार आवतजावत उनीहरूको जीवनशैलीको हिस्सा बनेको छ।
तर पछिल्ला केही दिनयता नेपालतर्फका सुरक्षाकर्मीहरूले भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा कडाइ गर्न थालेपछि यस्तो विवाद सतहमा आएको हो। सुरक्षा निकायले बिना अनुमति (पास वा भन्सार प्रक्रिया बिना) नेपाल प्रवेश गर्ने सवारी साधनलाई रोक्न थालेको बताइएको छ।
भन्सार तथा सीमा सुरक्षा सम्बन्धी प्रचलित व्यवस्थाअनुसार विदेशी नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा अस्थायी अनुमति (भन्सार पास) लिनुपर्ने प्रावधान रहेको छ। निश्चित समयावधिभित्र मात्र ती सवारी साधन नेपालमा सञ्चालन गर्न पाइने र नियम उल्लङ्घन गरे कारबाहीको व्यवस्था छ। पछिल्लो समय यिनै नियमहरूको कडाइका साथ कार्यान्वयन हुन थालेपछि सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरू प्रभावित भएका छन्।
विशेष गरी खेतीपातीका लागि दैनिक आवतजावत गर्ने भारतीय किसानहरूलाई यसले प्रत्यक्ष असर पारेको स्थानीयहरूले बताएका छन्। उनीहरूका अनुसार वर्षौँदेखि चलिआएको सहज आवतजावतमा अचानक कडाइ गर्दा समस्या उत्पन्न भएको हो।
यसैबिच भारतीय पत्रकार वीरेन्द्र यादवले घटनास्थलबाट प्रतिक्रिया दिँदै सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको अवस्थालाई ध्यानमा राख्दै दुवै देशबीच समन्वय र सहजीकरण आवश्यक रहेको बताएका छन्।
स्थानीय तह र सुरक्षा निकायबिच समन्वय अभाव तथा नियमको कडाइसँगै सीमा क्षेत्रमा यस्ता घटनाहरू दोहोरिन सक्ने भन्दै सरोकारवालाहरूले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।







डिसी नेपाल







Facebook Comment