वन्यजन्तुको तथ्याङ्क संकलनः दश चितुवा भेटिए

डिसी नेपाल
१४ माघ २०७६ ८:४२

पाल्पा। पाल्पाको माथागढी गाउँपालिकाले पशुपक्षीसँगै वन्यजन्तुको तथ्याङ्क संकलन गर्न थालेको छ।

गाउँपालिका क्षेत्रभित्र पाइने पशुपक्षी तथा वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग गर्न गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको हो। प्राप्त प्रारम्भिक तथ्याङ्कमा चितुवा, बाँदर, वनकुखुरा, ढुकुर, मृगलगायतका वन्यजन्तु ठूलो मात्रा रहेको देखिन्छ। गाउँपालिकाको अधिकांश वन क्षेत्रमा बाँदर, मृग र स्याललगायतका वन्यजन्तु सबैभन्दा बढी रहेको देखिएको हो।

गाउँपालिका क्षेत्रभित्रका कुन–कुन वन्यजन्तु, कहाँ कति मात्रामा रहेका छन् भन्ने विवरण गाउँपालिकाको वस्तुगत विवरण २०७६ मा ल्याउन लागेको हो। गाउँपालिकाले वडागतरूपमै वन्यजन्तुको तथ्याङ्क समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापामगरका अनुसार यो तथ्याङ्क प्रारम्भिक रहेकाले यसलाई अझै पूर्णता प्रदान गरिने बताए।

स्थानीय बासिन्दा, वन समूह, वन कार्यालय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा वन्यजन्तुको तथ्याङ्क सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष थापामगरको भनाइ छ।

माथागढी गाउँपालिका–१ चिदीपानीको वन क्षेत्रमा चितुवा रहेको छ । यस वन क्षेत्रमा १० सानो चितुवा, ५० मृग, ५०० कालिज, २०० ढुकुर रहेका छन्। सामुदायिक वन क्षेत्रमा तित्रा, जुरेला, खोलेहाँस, दुम्सीलगायतका वन्यजन्तु रहेका छन्।

माथागढी गाउँपालिका–३ को सरापकोट, सिलाङ्दी वनमा तित्रा ३००, बाथ ६ मा वनबाख्रा २०, ढुकुर ६० रहेका छन्। वडा नं ५ मा बाँदर ४००, कालिज लुइँचे १००, स्याल ५० रहेका छन्। माथागढी गाउँपालिका–७ रहबासको वन क्षेत्रमा बाँदर र स्याल गरी नौ हजार, मृग वन बिरालो दुई हजार, कालिज लुइँचे दुई हजार, ढुकुर कोइली आठ हजार रहेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ।

माथागढी गाउँपालिकाकै ८ नं वडा बहादुरपुरको वन क्षेत्रमा प्रशस्त मात्रामा वन्यजन्तु रहेको उल्लेख छ। यहाँको राहुलखोलामा २०० स्याल, पिपलडाँडा वन क्षेत्रमा मृग ५०, थपना पहाडमा बादर ५००, दुम्सी ७५, खरायो १५०, कालिज १७५, लुइँचे १००, तित्रा १९०, सुगा २०० समेत रहेका छन्।

माथागढीको वडा नं २, ४, ६ मा वन्यजन्तुको तथ्याङ्कले पूर्णता पाउन सकेको छैन। यस क्षेत्रमा साना चितुवा हिँडिरहेको स्थानीय बासिन्दाले देखे पनि तथ्याङ्कमा ल्याउन सकिएको छैन। सामुदायिक वन संरक्षण हुन थालेपछि यहाँका वनमा वन्यजन्तु पनि संरक्षण हुँदै आएका छन्। स्थानीय बासिन्दाले वन क्षेत्र संरक्षण र चोरी शिकारीमा निगरानी बढाए पनि लोपोन्मुख वन्यजन्तुसमेत संरक्षण हुन थालेको हो।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख डा मोहन पौडेलले वन्यजन्तु संरक्षणका लागि स्थानीय बासिन्दालाई सचेत बनाउन अन्तक्र्रिया कार्यक्रम, होर्डिङबोर्डका कार्यक्रम रहेको बताए।

उनका अनुसार वनजङ्गल क्षेत्रमा घाइते अवस्था रहेका वन्यजन्तुको उद्वार गरी वन क्षेत्रमै छाड्ने काम हुन्छ। वन्यजन्तुको चोरी शिकारी हुँदा ऐनअनुसार कारवाही हुन्छ। समुदायले वन रेखदेख गर्न थालेपछि वन्यजन्तु बाक्लो मात्रामा देखिन थालेका छन्।

वन क्षेत्रबाट चोरी शिकारी कडाइले वन्यजन्तु बस्ती नजिकै देखिएका हुन्। सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रको अगुवाइ गर्न थालेपछि नाङ्गाडाँडा हराभरा हुँदै त्यस क्षेत्रमा वन्यजन्तु देखिन थालेको हो।

बस्ती नजिक वन्यजन्तु आउँदा स्थानीय बासिन्दा भने त्रसित छन्। जिल्लामा सामुदायिक वनका रुपमा समितिलाई व्यवस्थित गर्न थालेपछि लोपोन्मुख वन्यजन्तुसमेत देखिन थालेको स्थानीय बासिन्दाको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *