बाबुआमाको आयआर्जन बढेपछि छोराछोरी विद्यालयमा नियमित – Dcnepal

बाबुआमाको आयआर्जन बढेपछि छोराछोरी विद्यालयमा नियमित

काठमाडाैं। “छोरी मान्छेले किन पढ्नुपर्यो?” कतिपय अभिभावकले अझै पनि यस्तो प्रश्न गर्न छाडेका छैनन् तर अभिभावकलाई चित्तबुझ्दो जवाफ दिन अब छोरी सक्षम भइसकेका छन्।

बालिका शिक्षाको अवस्था कमजोर मानिएको कपिलवस्तु जिल्लाको दक्षिणी भेगमा छोराछोरीलाई विद्यालय पठाएबापत विपन्न र गरिब अभिभावकलाई आयआर्जन र रोजगारीका लागि सहयोग हुन थालेपछि शिक्षामा सुधार आउन थालेको छ। कपिलवस्तु जिल्ला मानव विकास सूचकाङ्कमा पछाडि रहेकोमध्ये एक जिल्ला हो।

साना बहिनीको शिक्षामा सघाउन स्थानीय सरकारको समन्वयमा सामाजिक अभियानकर्मी र ठूला दिदीे समूहले बनाएर काम गरेपछि अभिभावकको मनस्थिति बदलिएको देखिन्छ।

विद्यालय तहका माथिल्लो कक्षामा अध्ययनरत दिदीहरुले तल्लो तहका बहिनीलाई शिक्षा र सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रममा निर्मित शुद्धोधन गाउँपालिकाको मुडफुटुवास्थित नेपाल राष्ट्रिय माविका ममता पाण्डे, सृष्टिकुमारी पाण्डे र जाता कुर्मी आफ्नो प्रयासबाट बहिनीको शिक्षामा आएको सुधारबाट सन्तुष्ट छन्।

पहिला पढाइमा कमजोर भएका बहिनी पहिलापहिला बोल्न पनि डराउँथे। अहिले पढाइमा राम्रो नतिजा आउन थालेको छ। दिदीहरुका समूह बहिनीको घरमा नियमित जाने र अभिभावकलाई भेट्दै विद्यालय नपठाउने अभिभावकलाई परामर्श दिने गरेपछि बहिनी विद्यालयमा नियमित जान थालेका छन्।

दिदी समूहमा कार्यरत अक्षिता शुक्लले आफूहरुले हरेक वर्ष चार बहिनीलाई नियमित भेटी शिक्षामा सघाउँदा आफूले पनि सिक्न पाएको बताए। विद्यालयमा शिक्षक नहुँदा बहिनीका लागि कक्षा लिने काम पनि गरिएको उनको अनुभव छ।

युरोपोली आयोगको सहयोगमा वी वल्र्ड, ग्लोबल एक्सन नेपाल (ज्ञान) र सिद्धार्थ सामाजिक केन्द्रको सहकार्यमा सन् २०१२ देखि ‘कपिलवस्तुमा समता र पहुँचका लागि साझेदारी कार्यक्रम’ (पिक) ले जिल्लको दुई गाउँपालिकामा परियोजना सञ्चालन गरेपछि विद्यालय बाहिर रहेका बालबालिकाको विद्यालय भर्नादर उल्लेखनीय वृद्धि भएको छ।

भर्ना भएका विद्यार्थी नियमित विद्यालय जान थालेका छन् र पढाइमा सुधार ल्याई सरसफाइमा ध्यान दिन थालेका छन्। यस अभियानमा बहिनीको आत्मविश्वास बढाउने र अभिभावकको आयआर्जनका तालिमका कार्यक्रम पनि चलाइएको छ।

सो भेगका १२० अभिभावकले पशुपालन र व्यवसाय खोल्नका लागि आर्थिक र सामग्री सहयोग पाएपछि उनीहरुले बालबालिकालाई सहजै विद्यालय पठाउन थालेको पाइएको छ।

एकीकृत समता रणनीतिअन्तर्गत शिक्षाको पहुँच हुन नसकेका सीमान्तकृत सिकाइ समूहको पहिचान गर्ने, सवलीकरण समतामार्फत बालबालिकालाई विद्यालयमा टिकाउने र सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्यका साथ जिल्लाको मायादेवी र शुद्धोधन गाउँपालिकाका २४ सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको थियो।

ती विद्यालयका १६७ शिक्षक र २१ बालविकास केन्द्रका सहजकर्ताका लागि बालमैत्री शिक्षण सिकाइ, कक्षाकोठा व्यवस्थापन, सामग्री निर्माण र प्रयोगसम्बन्धी तालीम पनि दिएको छ।

कार्यक्रमले स्वास्थ्य तथा पोषण, वकालत, बालमैत्री सिकाइको वातावरण, वैकल्पिक शिक्षा कार्यक्रम, सकात्मक नीतिगत तथा कानूनी कार्य, समन्वय, सहकार्य र सञ्जालीकरणका क्षेत्रमा समेत सहयोग गरेको थियो।

दुई पालिकामा करिब ६ हजार बालबालिका परियोजनाबाट लाभान्वित भएको र कूल ४५५ दिदीहरु र अन्य समुदायका व्यक्ति परिचालित भएको वी वल्र्डका राष्ट्रिय निर्देशक तिलक भट्टराईले जानकारी दिए।

उनले ती पालिकामा हाल कोही पनि बालबालिका विद्यालय बाहिर नरहेको र सिकाइ उलपब्धि ३७ दशमलव ५० बाट वृद्धि भएर ४१ पुगेको बताए। सो अवधिमा विद्यालय बाहिर रहेका एक हजार ५०० बालबालिका विद्यालय भर्नामा आएका छन् भने दुई पालिकामा अपाङ््गता भएका १३ जना बालबालिका विद्यालय बाहिर छन्।

शिक्षा क्षेत्रका केन्द्रीय सरोकारवालासँग परियोजनाको सफलता जानकारी दिन आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं कपिलवस्तु क्षेत्र नं १ सङ्घीय सांसद चक्रपाणि खनाल ‘बलदेव’ले जिल्लामा शिक्षाको अवस्था सुधारोन्मुख भए पनि गतिशील हुन नसकेको बताउँदै सरकारी र गैरसरकारी क्षेत्रको सहयोगमा शिक्षामा रुपान्तरण ल्याउन आवश्यक भएको बताए।

पूर्वमन्त्री खनालले भने, “पहिला बाबुआमाका समस्या पहिचान गरौँ । छोराछोरीले पढेलेखेर के गर्छन्, खनजोत गरेमा खान पाउँछन् भन्ने अवस्थालाई ध्यान दिएर शिक्षालाई रोजगारमूलक बनाउन लागौँ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालले कपिलवस्तुको यस नमूना सिकाइलाई नीतिगतरुपमा कसरी विस्तर गर्न भन्नेबारेमा समीक्षा गरिने जनाए। मायादेवी गाउँपालिकाका अध्यक्ष बजरङ्गीप्रसाद कुर्मीले भारतीय सीमा नजिक रहेको दक्षिणी भेगमा शिक्षाको सुधार हुन थाले पनि शिक्षक दरबन्दी पाउन मुस्किल हुँदा गुणस्तरीय शिक्षा चुनौतीपूर्ण रहेको गुनासो गरे।

शिक्षाविद् डा मनप्रसाद वाग्लेले सुधार भइसकेको अवस्थाबाट तल नझार्न सुझाव दिँदै अर्थपूर्ण सिकाइका लागि शिक्षकले निरन्तर मेहनत गर्नुपर्ने बताए। ज्ञानका निर्देशक विके श्रेष्ठका अनुसार आफूहरुले ‘सबैका लागि शिक्षा’ को अपूरो काममध्ये शिक्षामा बालबालिकाको पहुँच र गुणस्तर वृद्धिका लागि लमजुङ, सुर्खेत र पर्सा पनि यस्ता कार्यक्रम सञ्चालन भइरहेको छ। उनले बालबालिकालाई नियमित विद्यालय पठाउने दायित्व स्थानीय तहको भएकाले जनप्रतिनिधिले शिक्षालाई प्राथमिकता दिन आग्रह गरे।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो