सुर्खेत सवारी दुर्घटनाः पीडितद्वारा आन्दोलन घोषणा

डिसी नेपाल
१८ माघ २०७६ १८:१४

सुर्खेत। सुर्खेतमा ट्रक र ट्याक्टर ठोक्किँदा मृत्यु भएका ट्याक्टर चालकका आफन्तले आन्दोलनको घोषणा गरेका छन्। शुक्रवार वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपीराचोकमा ट्रक र ट्याक्टर एक आपसमा ठोक्किँदा ट्याक्टर चालक जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ का प्रेमबहादुर कार्कीको मृत्यु भएको थियो। शनिवार पीडित परिवार संघर्ष समितिले एक विज्ञप्ती जारी गरी आन्दोलनको घोषणा गरेको हो ।

लु १ ख ७६७० नम्बरको ट्रकले भे १ त ७५८९ नम्बरको ट्रकलाई ठक्कर दिँदा हाल वीरेन्द्रनगर–१२ एअरपोर्ट नजिकै बस्दै आएका ट्याक्टर चालक तथा साहु कार्कीको मृत्यु भएको थियो। दुर्घटनालगत्तै उचित क्षतिपूर्तिका लागि प्रशासनलाई आग्रह गरे पनि कुरा नमिलेपछि पीडित परिवारले संघर्ष समिति नै बनाएर आन्दोलनको घोषणा गरेको हो।

ईण्डिकेटर (साईड लाईट) बालिरहेकै अवस्थामा ट्याक्टरलाई ट्रकले ठक्कर दिएको भन्दै पीडित पक्षले ट्रक चालकलाई हदैसम्मको कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। पीडित पक्षले मृतकको शव बुझेका छैनन् भने सहमति नहुँदा पोष्टमार्टम समेत हुन सकेको छैन। शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ।

आन्दोलनअन्तर्गत माघ १९ गते वीरेन्द्रनगरबाट भित्रिने÷बाहिरिने तथा बजारभित्र चल्ने सम्पूर्ण सवारी साधन बन्द गराउने, माघ २० गते वीरेन्द्रनगर भित्रका सम्पूर्ण व्यापार, व्यसाय, उद्योग, कलकारखाना, सरकारी कार्यालय पूर्ण रुपमा बन्द गराउने बताइएको छ। यी संघर्षका कार्यक्रमपश्चात पनि आफ्ना माग पूरा नभए थप संघर्षका कार्यक्रम गर्ने जनाइएको छ ।

प्रशासनले उचित क्षतिपूर्तीसहित सहमति जुटाउनुको साटो शव उठाउन आफन्तलाई एकतर्फी दवाव दिएको आरोप पीडित परिवार संघर्ष समितिका संयोजक कृष्ण बहादुर कार्कीले लगाए। उनले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन्।

उनका अनुसार पीडित परिवारले ट्रक चालक र धनीलाई कानूनबमोजिम कारबाही, मृतकका बालवालिकाको सम्पूर्ण पठनपाठनको जिम्मेवारी ट्रक चालक र धनीले लिनुपर्ने, मृतकको परिवारलाई बीमाबाहेक थप क्षतिपूर्ति दिनुपर्ने, घाईतेलाई पूर्ण उपचारको व्यवस्था, दुर्घटनामा परेको ट्याक्टरको जिम्मा पनि ट्रक धनीले लिनुपर्ने माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *