दुई वर्षमा प्रदेशसभाको बलियो जग बसाल्ने काम भयोः सभामुख घर्ती

डिसी नेपाल
१८ माघ २०७६ २२:१५

बुटवल । प्रदेश ५ प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको बलियो जग बसाल्ने काम दुई वर्षमा सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
संसदीय पत्रकार समाज प्रदेश नं ५ ले शनिबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा उनले चुनौतीलाई समाधान गर्दै सबैको सहयोगबाट जिम्मेवारीलाई निर्वाह गर्न सफल भएको जानकारी दिए।

प्रदेशसभामा पहिलो हुने दौडभन्दा अधिकतम राम्रो बनाउने प्रयत्नका साथ काम गर्ने प्रयासमा रहेको सभामूख घर्तीले उल्लेख गरे। उनले प्रदेशसभाबाट बनेका कानून जनपक्षीय भए/नभएको विषय कार्यान्वयनबाट देखिने र दुई वर्षको अवधिमा कानून निर्माणसँगै सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध सुमधुर कायम राख्नसक्नु उपलब्धि भएको बताए।

“पूर्वाधारको मात्र हैन प्रदेशसभामा शपथमा राष्ट्रिय झण्डासमेत थिएन”, सभामुख घर्तीले भने, “त्यस्तो अवस्थाको प्रदेशसभाको संरचना अहिले आएर पूर्वाधारमा उल्लेख्य काम भएको छ ।”

उपसभामुख कृष्णी थारुले प्रदेश नं ५ लाई कस्तो बनाउने भन्ने विषयमा संसद्को ध्यान केन्द्रित भएको बताए । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कानून सङ्ख्या बढाउनेभन्दा कार्यान्वयनले परिणाम देखिने बताए ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का कार्यवाहक अध्यक्ष भरत केसीले प्रदेशसभाको जनपक्षीय कानून निर्माणमा ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । अधिवक्ता महेन्द्र पाण्डेले प्रदेशसभाले कानून निर्माणमा उत्कृष्टता देखाए पनि कार्यान्वयनमा नागरिक आवाज मुखरित हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा सभामुख घर्तीलेसमाजले प्रकाशित गरेको प्रदेशसभाका सदस्यको पूर्ण परिचयसहितको पुस्तिकाको विमोचन गरेका थिए। विसं २०७४ माघ २१ गते पहिलो बैठक बसेको प्रदेश नं ५ प्रदेशसभाले माघ २१ गतेलाई प्रदेशसभा स्थापना दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *