चितवनमा एक वर्षमा २७४ जनामा डेंगु संक्रमण, सबैभन्दा बढी रत्ननगर र भरतपुर प्रभावित
चितवन। चितवन जिल्लामा गत एक वर्षको अवधिमा २७४ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कुल १० हजार ५२३ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा डेंगुका बिरामी फेला परेका हुन्।
संक्रमितमध्ये २१६ जना चितवन जिल्लाकै स्थायी बासिन्दा हुन् भने बाँकी ५८ जना उपचारका लागि अन्य जिल्लाबाट आएका हुन्। जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा यो रोगको सङ्क्रमण देखिएको छ।
यसैगरी भरतपुर महानगरपालिकामा ५६ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकामा २१ जना, कालिका नगरपालिकामा ११ जना तथा माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन/काठमाडौं तीन जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा भने निकै कम हो। गत आर्थिक वर्षमा १७ हजार ३५३ जनाको परीक्षण गरिएकोमा तीन हजार ८८९ जनामा डेंगु संक्रमण देखिएको थियो भने सो समयमा संक्रमणका कारण एक जनाको मृत्युसमेत भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
चिकित्सकहरूका अनुसार एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग विशेष गरी भदौ र असोज महिनामा बढी फैलिने गर्दछ, किनकि यो समयमा हुने वर्षा र घामको मिश्रणले लामखुट्टे उत्पादनका लागि अनुकूल वातावरण बनाउँछ।
यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने गर्दछ र यसले प्लास्टिकका भाँडा, टिनका डब्बा, ड्रम, पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी तथा खुला पानीको ट्यांकीमा फुल पार्ने गर्दछ।
डेंगु संक्रमण भएपछि उच्च ज्वरो आउने, आँखाको गेडी, टाउको, शरीर, जोर्नी र मांसपेशीहरू दुख्ने तथा छालामा बिबिरा आउने जस्ता प्रारम्भिक लक्षणहरू देखिन्छन्। रोग जटिल बन्दै गएमा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने र नाक वा गिजाबाट रगत बग्ने (रक्तस्राव हुने) जस्ता गम्भीर लक्षण देखापर्ने गर्दछन्।
जनस्वास्थ्य कार्यालय चितवनले डेंगु ज्वरोबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै रहेको स्पष्ट पारेको छ। यसका लागि आफ्नो घर र कार्यस्थल वरिपरि रहेका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम र पुराना टायरहरूमा पानी जम्न नदिन र सरसफाइमा विशेष ध्यान दिन कार्यालयले अपिल गरेको छ।






डिसी नेपाल





Facebook Comment