सदरमुकाममा ‘फोरजी’ : गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने

डिसी नेपाल
१९ माघ २०७६ ८:५४

बाजुरा। जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन। तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ।

ग्रामीण क्षेत्रका जडान गरिएका टावरका उपकरण बिग्रिएका छन्। जिल्लाका गौमुल, जगन्नाथ, हिमाली गाउँपालिकामा अझै फोन सेवा सञ्चालन भएको छैन। जगन्नाथ गाउँपालिकाको केन्द्र तथा बडिमालिका नगरपालिकाकै दुर्गम क्षेत्रमा अझै फोन सुविधा छैन। नेपाल टेलिकम शाखा बाजुराले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोरजी’ विस्तारको कामलाई तीव्रता दिएसँगै बाजुरामा पनि जडान गरिएको हो।

माघसम्म देशैभर फोरजी सेवा पुर्याउने लक्ष्य रहेको जनाइएको छ। हालसम्म ६० जिल्लामा सेवा विस्तार गर्नेक्रम सकिएको र बाजुरामा सेवा जडान हुनेमा ६०औँ जिल्लामा परेको शाखा कार्यालय प्रमुख पदम बडालले जानकारी दिए।

फोरजीका लागि जिल्लाका दुई टावरमा बिटिएस प्रविधि जडान गरिएको छ। सदरमुकाम मार्तडीको खुलामञ्च र दूरसञ्चार कार्यालय अगाडि रहेको दुई टावरबाट फाष्ट इन्टरनेट सेवा फोरजी शुरु गरेको हो। फोरजी एलटीइ सेवा जडानसँगै इन्टरनेटको गतिमा पनि सुधार हुने छ।

सातौँपटक बाजुरामा हिमपात

जिल्लाका उच्च भूभागमा पुनः हिमपात शुरु भएको छ। हिमपातका कारण चिसो बढेको छ। हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले दैनिक जनजीवन नराम्ररी प्रभावित बनेको छ।

शनिबार बिहानादेखि सदरमुकाम मार्तडीसहित आसपासका हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी परेको छ। सातौँपटक हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ। हिमपातपछि कोल्टी विमानस्थल बन्द भएको छ। स्थानीय बजार पनि बन्द छन्।

ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ। हिमाली क्षेत्रका गाउँमा परेको भारी हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ। हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन्। बजार पसल पनि पूर्णरूपमा बन्द भएका छन्। चिसोले खुला स्थानमा बसोबास गर्ने भोट जनजातिलाई निकै सास्ती भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *