बजारमा आजपनि हरियाली, बीमा कम्पनी नै रहे शिर्ष स्थानमा

डिसी नेपाल
२० माघ २०७६ १६:४६

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक १.१६ अङ्कले बढेर २८७.९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको छ ।

स्टकका अनुसार कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद–बिक्री भए ।

कारोवार भएका १२ मध्ये पाँच उपसमूहको शेयर मात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको शेयर बढेको छ ।

निर्जीवन बीमा ५९.२७ अङ्कले बढ्दा जलविद्युत् ४८.४४, विकास बैंक ३०.५८, अन्य ०.४४ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले बढेको छ ।

यसैगरी सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ४२.८ अङ्कले ओरालो लागेको छ । होटल १७.०१ अङ्कले घट्दा लघुवित्त ७.७५, बैंक ३.३६, उत्पादन ३.१३, व्यापार २.३८ र वित्त ०.७९ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा नेको इन्सुरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर छ करोड ५६ लाख ६० हजार ४८१ मा खरिद–बिक्री भयो । यस्तै ग्लोबल आइएमई बैंकको पाँच करोड एक लाख ९१ हजार ८२४, नेपाल इन्सुरेन्स कम्पनीको चार करोड ९९ लाख २० हजार ३६६, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको चार करोड ८१ लाख ५० हजार ५८३, प्रभु बैंकको रु चार करोड १९ लाख १८ हजार ५७२ र ग्रामीण विकास बैंकको शेयर रु चार करोड आठ लाख तीन हजार ७१५ मा खरिद–बिक्री भयो ।

बढेको बजारमा सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ५.२२ प्रतिशतले गुमाए । यस्तै युनियन हाइड्रोपावर ३.५०, समृद्धि फाइनान्स कम्पनी २.८८, गुडविल फाइनान्स कम्पनी २.७३, विजय लघुवित्त वित्तीय संस्था २.६०, पोखरा फाइनान्स २.४८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.४७ प्रतिशतले गुमाए ।

ग्रामीण विकास बैंकका लगानीकर्ताले ९.३६ प्रतिशतले कमाउँदा नेशनल हाइड्रोपावर कम्पनी ९.२६, छ्याङ्दी हाइड्रोपावर ९.०९, रसुवागढी हाइड्रोपावर ८.५४, सानिमा माई हाइड्रोपावर ८.५० र चिलिमे हाइड्रोपावरका शेयरधनीले ७.७८ प्रतिशतले कमाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *