‘रन’ फिल्मको ‘कौवा बिरयानी’ साँच्चिकै भयो, चिकेन बिरयानी भन्दै बेचिरहेका थिए

डिसी नेपाल
२५ माघ २०७६ ९:४५

काठमाडौं। बलिउड फिल्म ‘रन’मा चिकेन बिरयानी भन्दै कौवा बिरयानी खुवाएको दृह्य समावेश गरिएको थियो । यो चर्चित दृश्य अहिले पनि धेरैले सम्झिन्छन् । तर, यो फिल्मको जस्तै दृश्य वास्तविक जीवनमै भएको छ । एक व्यक्तिले चिकेन बिरयानी भन्दै कौवा बिरयानी बेचेको पाइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडुको सडक छेऊमा राखिने ठेलागाडीमा यस्तै ‘कौवा बिरयानी’ बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने एक ब्यापारीको चर्तिकला खुलासा भएको छ । तमिलनाडुको चर्चित रामेश्वरम् मन्दिर नजिकै ‘कौवा बिरयानी’ बेच्ने एक ब्यापारीलाई सरकारी अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । खाद्य विभागले छापामारी गर्दा ठेलागाडीमा चिकेन बिरयानी भनेर बिक्री गरिएको मासु कौवाको पाइएको छ ।

फिल्ममा देखाइए जस्तै चिकेन बिरयानीको नाममा कौवाको मासु पकाएर सस्तोमा बिक्री गरिएको रहस्योद्घाटन भयो । प्रहरीले उक्त कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेका छन् । दुबैजनाबाट करिब १५० वटा मरेको कौवा बरामद गरिएको छ ।

प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले लेखेअनुसार रामेश्वरम् मन्दिरमा दर्शनका लागि आएका श्रद्धालुको शंकाको भरमा विभागले छापामारी गरेको थियो । श्रद्धालुले प्रत्येक दिन रामेश्वरम् मन्दिरमा कौवालाई आहार खुवाउने गरेका छन् । तर केही दिन यता मरेको कौवा फेला परेको थियो । श्रद्धालुले उक्त घटनाबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले घटनाको अनुसन्धान गर्दा केही व्यक्तिले विषादी मिसिएको चामललाई कौवाको आहारको रुपमा प्रयोग गरेको पाइयो ।

प्रहरीले कौवाको मासु बेच्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले मरेको कौवा ठेला राख्ने ब्यापारीलाई बेच्दै आएको खुलाए । पसलेलेलाई सोध्दा कौवाको मासुलाई ‘चिकेन ललिपप’ बनाएर सस्तोमा बिक्री गर्दै आएको खुल्न आयो । जसबाट राम्रो आय आर्जन भएको उनीहरुले दाबी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *