रुकुम पूर्वमा पुनः हिमपात

डिसी नेपाल
२५ माघ २०७६ २१:२९

रुकुमपूर्व । रुकुम पूर्वका उच्च हिमाली तथा लेकाली क्षेत्रमा शनिबार पुनः हिमपात भएको छ । हिमपातसँगै कम हँुदै गएको चिसो फेरि बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ । हिमाली क्षेत्रमा पहिले परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएको हो ।

जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाका माथिल्लो अधिकांश क्षेत्रमा हिमपात भएको छ । यसपटकको हिमपातसँगै जिल्लामा यस वर्षको मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म १०–१२ पटकभन्दा बढी हिउँ परिसकेको छ । पटक–पटकको हिमपातको कारण जिल्लावासीको दैनिकी कष्टकर हुने गरेको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिकाकोे भने सबै ठाउँमा हिमपात भएपछि दैनिक कामकाजमा समस्या भएको स्थानीयवासीले बताएका छन् । गाउँपालिकामै हिउँ परेपछि गाउँपालिकासम्म पुग्ने सेवाग्राही र काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिलाई समस्या भइरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताईन्। हिमपातका कारण सेवाग्राही गाउँपालिकाको कार्यालयसम्म पुग्न नसक्ने भएपछि कर्मचारीलाई नै टोलटोलमा पठाएर दोस्रो चौमासिकको योजना सम्झौताको काम गरिहरहेको पनि उनले जानकारी दिईन् । हिमपात र चिसोकै कारण गाउँपालिकामा सेवा लिन आउनेको सङ्ख्या पनि न्यून रहेको उनको भनाइ छ ।

हिमपातकै कारण मङ्सिरको अन्तिम सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग पनि अझै सञ्चालन हुनसकेको छैन । हरेक वर्षको यसै समयमा हिमपात र चिसोका कारण जिल्लावासीले सास्ती खेप्ने गर्दछन् । कृषि र पशुपालन नै यहाँका मानिसको आम्दानीको मुख्य स्रोत हो । हिमपात र चिसोकै कारण भेडाबाख्राका बथानसहित बेँसी झरेका किसानका भेडा पनि मरेका छन् । जसले गर्दा जिल्लावासीलाई झनै समस्या भएको छ । एक हप्ता अगाडि मात्र भूमे गाउँपालिकाको लुकुमबाट चिसो छल्नका लागि दाङ झरेका साढे दुई सय भेडा मरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *