प्रेमदिवसको लागि १ करोड बराबरको गुलाब भारतबाट आयात

धनकुमार कार्की
२९ माघ २०७६ १९:११

काठमाडौं । यस वर्षको भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका लागि भारतबाट करिब एक करोड मूल्य बराबरको गुलाबका फूल आयात भएको छ। बार्षिक ४ करोड बराबरको गुलाब आयात गरिने भए पनि भ्यालेन्टाइनको एक हप्तामा मात्र त्यसको २५ प्रतिशत आयात हुने गरेको छ ।

फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकुल मौसम हुने भएकाले उत्पादनमा कमि हुने हुँदा आन्तरिक उत्पादनले बजार मागको २५ प्रतिशतमात्र धान्ने भएकाले ७५ प्रतिशत भारतबाट आयात गरिएको हो।

नेपाल फ्लोरिकल्चर एसोसिएशनका अनुसार यसवर्ष २ लाख स्टिम गुलाबको माग छ जसमध्ये ५० हजार स्वदेशमै उत्पादन हुन्छ भने बाँकी १ लाख ५० हजार भारतबाट आयात गरिन्छ।

‘हाम्रो उत्पादनले मागको २५ प्रतिशतसम्म मात्र धान्ने अवस्था छ। त्यसैले भारतबाट एक लाख ५० हजार गुलाब आयात हुन्छ’, एसोसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने।

गत वर्षको तुलनामा यसवर्ष २० प्रतिशले माग बढेको छ। गत वर्ष करिब १ लाख ६० हजार गुलाब प्रणय दिवसका दिन खपत भएको थियो। श्रेष्ठका अनुसार सामान्य दिनमा दैनिक ८ हजार स्टिम गुलाब माग हुने गरेकोमा प्रणय दिवसको एक हप्ताभरी २ लाख पुग्छ।

तर वार्षिकरुपमा माग बढ्दै गएपनि उत्पादन भने वृद्धि हुन सकेको छैन्। गत वर्ष करिब ५० हजार गुलाब उत्पादन भएको थियो। उत्पादनमा वृद्धि हुन नसक्नुका पछाडि हाइटेक प्रविधिको अभाव प्रमूख भएको श्रेष्ठले बताए ।

‘पुष्प व्यवसायको बजार फैलिएको छ, केही क्षेत्रमा हाइटेक शैली अपनाइएको छ तर अधिकांश भेगमा अझै पनि परपरागत शैलीमै खेती हुने गरेकाले उत्पादन सोचे अनुरुप बढ्न सकेको छैन’ उनले भने।

यसकै कारण प्रेम दिवसमामा ७५प्रतिशत, सामान्य दिनमा २० प्रतिशत तथा ग्रीन प्लान्ट सिजनलका रुपमा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको श्रेष्ठको भनाई छ।

त्यस्तै अन्य फूल जस्तो वर्षभरी नै उच्च माग नहुने भएकाले पनि गुलाब खेतीमा पर्याप्त लगानी हुन नसकेको उनी जिकिर गर्छन्।

श्रेष्ठले दश वर्षअघिसम्म नेपालबाट बेलायत र जापानमा मात्रै वार्षिक ३ करोडको गुलाब निर्यात हुने गरेको भन्दै ‘सिजनल गुलाब’ मा ठूलो लगानी हुन नसकेको बताए।

सुन्दरीजलमा नेपाली र विदेशीको सयुक्तं लगानीमा एभरेष्ट फ्लोरिकल्चर फार्म सञ्चालनमा थियो। तर राजनितिक अस्थिरता तथा व्यवस्थापकिय कमजोरीका कारण सो फार्म २०६४ मा बन्द हुन पुगेको थियो।

यद्यपी उनले समग्र पुष्प व्यवसाय फस्टाउँदै गएको भन्दै केहि वर्षमै आत्मनिर्भरको अवस्था आउने दाबी गरे। तर बजारमा गुलाबको मूल्यमा भने एकरुपता छैन्। पसलपिच्छे फूलको गुणस्तर अनुसार प्रति स्टिम ८० देखि १०० रुपैयाँ सम्म कारोबार हुन्छ ।

कसजुको भनाईमा यी गुलाबहरु भ्यालेन्टाइन डेको एक हप्ताअघिबाटै बजारमा आउँछन्। त्यसैले व्यवसायीले कति दिनअघि कुन ठाँउबाट ल्याएका हुन त्यसकै आधारमा मूल्य निर्धारण गर्ने गर्छन्।

स्थानीय स्तरमा भक्तपुर, काभ्रे, बनेपा लगायतका क्षेत्र तथा भारतको कलकत्ता, बैंगलोर, दिल्लीबाट गुलाब आयात हुने गरेको व्यवसायी बताउँछन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *