कुवेतमा ८ नेपाली पुरिएपछि कम्पनीमा कामदारको धर्ना, ५ नेपालीको ज्यान गएको दावी

डिसी नेपाल
१ फागुन २०७६ १३:४०

काठमाडौं। कुवेतमा निर्माणस्थलमा दुर्घटना हुँदा नेपालीसहितका कामदार पुरिएपछि कम्पनीमा कार्यरत कामदारहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले कामदारको सुरक्षामा ध्यान नदिइएको भन्दै कम्पनीअगाडि धर्ना दिएका छन् । दुर्घटनामा १३ जना कामदार परेको बताइएको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन । अरब न्यूजले १० जना कामदार परेको समाचारमा जनाएको छ ।

कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसीका कामदारहरु दुर्घटनामा परेका हुन् । अरब न्यूजले ४ नेपाली कामदारको मृत्यु भएको, ३ जना घाइते भएको र तीन जना पुरिएकै अवस्थामा हराइरहेको लेखेको छ तर त्यहाँ रहेका नेपाली कामदारले भने ज्यान गुमाउने नेपालीको संख्या बढी भएको दावी गरेका छन् ।

सीजीजीसी कम्पनीले सडक विस्तारको काम गर्छ । यही कम्पनीमा कार्यरत अर्घाखाँचीका एक युवाका अनुसार कम्पनीमा करिब ५ हजार कामदार कार्यरत छन् । जसमध्ये २ हजार बढी नेपाली कामदार कार्यरत छन् । नेपालीबाहेक बंगलादेशी, भारतीय र पाकिस्तानी कामदारहरु कम्पनीमा कार्यरत छन् ।

उनका अनुसार दुर्घटना हुने बेला १३ जना कामदारहरुले काम गरिरहेका थिए । काम चल्दै गर्दा अचानक माटो खस्न थालेको देखेपछि ३ जना कामदार चिच्याउँदै भागेका थिए । उनीहरु सकुशल छन् । २ जनालाई भने टाउको भाग सम्म पुरिएको अवस्थामा उद्धार गरिएको हो । उनीहरुलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । घटनामा ८ नेपाली कामदार परेको आफूले थाहा पाएको उनले बताएका छन् ।

जानकारीअनुसार ढलको पाइप बिच्छ्याउने तेन्जर मेसिनले ४/५ मिटर नाला खनेको थियो त्यसैमा उनीहरुले काम गरिरहेका थिए । त्यसैको १ मिटरको ग्यापमा सोही किसिमका अर्को नाला खनेर भर्खरै पुरिएको थियो । फुकुवा माटोले भर्खरै पुरिएको नाला र अहिले खनिएको नालाबीच मात्रै १ मिटर जमिन थियो । यो साँघुरो जमिनले दबाब धान्न नसकेपछि पहिरो गएको थियो ।

‘हाम्रै कम्पनीमा हो दुर्घटना भएको । तर, अर्को ५ नम्बर ब्लकमा हो । घटना भएपछि कसैलाई त्यहाँ जान दिइएको छैन’ उनले भने ‘८ जना नेपाली परेको भन्ने सुनेका छौं । तर, को को परे भन्ने अहिले सम्म थाहा भएको छैन ।’ उनका अनुसार कम्तीमा ५ नेपालीको ज्यान गएको छ तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।

दुर्घटनापछि कामदारको सुरक्षामा ध्यान नदिइएको भन्दै कामदारहरुले कम्पनीमा धर्ना दिइरहेका छन् । उनीहरुले निर्माणस्थलमा कम्पनीले सुरक्षा सतर्कता नपनाइ काम गराएकोले दुघर्टना भएको आरोप लगाएका छन् । कुवेतस्थित नेपाली दूतावासकी द्वितीय सचिव जानकी ओझाले दुर्घटनामा पर्नेमध्ये धेरै नेपाली भएको बताइन् । उनले ८ जना नेपाली परेको जानकारी पाए पनि को–को परे भन्ने अहिलेसम्म पुष्टि भइनसकेको बताइन् । स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म पुष्टि भइसक्ने उनले बताइन् । कुवेतकी सार्वजनिक निर्माण मन्त्री डा. राना अल फारिसले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न आदेश दिएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *