कुवेतमा ६ नेपालीको ज्यान गएपछि श्रमिक काममा फर्किन मानेनन्, क्षतिपूर्तिसहित स्वदेश फर्काउन माग

डिसी नेपाल
२ फागुन २०७६ १४:३५

काठमाडौं । कुवेतमा निर्माणस्थलमा दुर्घटना हुँदा नेपालीसहितका कामदारले ज्यान गुमाएपछि त्यहाँ कार्यरत कामदारहरुले कम्पनीको काम ठप्प पारेका छन् । उनीहरुले कामदारको सुरक्षामा ध्यान नदिइएको भन्दै कम्पनीअगाडि बिहिवार धर्ना समेत दिएका थिए् । बिहीवार धर्ना दिएका उनीहरुले शुक्रबार भने कम्पनीको काम मात्रै ठप्प पारेर आफूहरुलाई स्वदेश फर्काउन माग गरिरहेका छन् ।

बुधवार दिउँसो कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरु दुर्घटनामा परेका हुन् । युनिभर्सलले चिनियाँ कम्पनी सीजीजीसीलाई कामदार आपूर्ती गर्छ ।

२२ महिनादेखि कार्यरत रहेका अर्घाखाँचीका एक युवाका अनुसार युनिभर्सलले सीजीजीसीलाई करिब ५ हजार कामदार दिएको छ । जसमध्ये २ हजार बढी नेपाली कामदार छन् । नेपालीबाहेक बंगलादेशी, भारतीय र पाकिस्तानी कामदारहरु कम्पनीमा कार्यरत छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेहरुमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । मृत्यक मध्ये अन्य दुईजनाको विवरण खोजी भइरहेको दूतावासले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घाइते मनोरथ मण्डल उपचारपछि कम्पनीको क्याम्पमा फर्केका छन्।

त्यहीँ कार्यरत नेपाली कामदारका अनुसार दुर्घटना हुने बेला १३ जना कामदारहरुले काम गरिरहेका थिए । काम चल्दै गर्दा अचानक माटो खस्न थालेको देखेपछि ३ जना कामदार चिच्याउँदै भागेका थिए । उनीहरु सकुशल छन् । २ जनालाई भने टाउको भाग सम्म पुरिएको अवस्थामा उद्धार गरिएको हो ।

जानकारीअनुसार ढलको पाइप बिच्छ्याउन तेन्जर मेसिनले झण्डैे ५ मिटर गहिरो नाला खनेको थियो । त्यसैमा उनीहरुलाई एक्साभेटरको बकेटमा चढाएर नाला सम्याउन सावेल र बेल्चा दिएर पठाइएको थियो । त्यसैको १ मिटरको ग्यापमा सोही किसिमका अर्को नाला खनेर भर्खरै पुरिएको थियो । त्यो नाला प्राविधिक हिसावले गलत भएपछि पुरिएको थियो । फुकुवा माटोले भर्खरै पुरिएको नाला र अहिले खनिएको नालाबीच मात्रै १ मिटर जमिन थियो । यो साँघुरो जमिनले दबाब धान्न नसकेपछि पहिरो गएको थियो । दुर्घटनालगत्तै उनीहरुलाई सरकारी टोली आएर उद्धार गरेको थियो ।

दुर्घटनापछि कामदारको सुरक्षामा ध्यान नदिइएको भन्दै कामदारहरुले कम्पनीको काम ठप्प पारेका हुन् । उनीहरुले निर्माणस्थलमा कम्पनीले सुरक्षा सतर्कता नपनाइ काम गराएकोले दुर्घटना भएको आरोप लगाएका छन् । उनीहरुले मृतकका परिवार तथा घाइतेलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।

कम्पनीले सुरक्षा सतर्कता नपनाइ काम गराउँदा बारम्बार दुर्घटना भएका अर्घाखाँचीका ती युवाले बताए । ‘हामी यो कम्पनीमा आएको २२ महिना पुग्दैछ । हामी आएपछि मात्रै १२/१३ पटक विभिन्न दुर्घटना भए । त्यसमध्ये बुधबार घटेको ठूलो घटना थियो,’ उनले भने ‘कम्पनीको लापरवाहीले धेरै कामदारले ज्यान गुमाउनु परेको छ ।’

उनका उनसार २ वर्ष पहिले कम्पनीको काम गर्दा घाइते भएका तराइका एक जनाको उपचार नपाइ मृत्यु भएको थियो । कम्पनीमा धेरै कामदारहरु भएकाले उनीहरुलाई छुट्टाछुट्टै क्याम्पमा राखिएको छ । कम्पनीमा दुघर्टनाहरु नियमित जसो हुने गरे पनि दुर्घटनाको बारेमा कम्पनीले कसैलाई जानकारी गराउँदैन । कम्पनीकै एउटा क्याम्पमा भएको दुर्घटना अर्को क्याम्पका कामदारलाई थाहा दिइँदैन ।

‘कम्पनीमा धैरे कामदार छन् । अलगअलग राखेको छ । कम्पनीले काम गराउँदा सुरक्षा मापदण्ड विना नै काम गराउँछ । सुपरभाइजर र फोरम्यानहरु सबै चिनियाँहरु छन् । उनीहरुले काम मात्रै गराउन खोज्छन्,’ उनले भने ‘दुर्घटना दैनिक जसो हुन्छ । तर, कम्पनीमा काम गर्ने कसैलाई थाहा हुँदैन । यो ठूलो घटना भएर बाहिर आयो ।’

सोही कम्पनीमा काम गर्नै प्युठानका अर्का एक युवाका अनुसार केही महिना अघि पाल्पाका एक युवाको काम गर्ने सिलसिलामै मृत्यु भएको थियो । उनले अहिले कार्यरत कुनै पनि कामदारले कम्पनीमा काम गर्न नचाहेको बताए । ‘कम्पनीको लापरवाहीले बारम्बार कामदारहरुले ज्यान गुमाउनु परेको छ । बुधवारको घटनाले सबै कामदार विक्षिप्त छन् । सबै कामदारले स्वदेश फर्कन चाहेका छन् । हिजोबाट हामीहरु काम ठप्प गरेर बसेका छौँ । जसरी हुन्छ क्षपतिपूर्ति सहित हामीलाई स्वदेश फर्काउन पर्यो भन्ने हाम्रो माग हो’ उनले भने ।

करार अवधि पूरा नभएकाहरुले पनि २ वर्षे करार अवधिको क्षतिपूर्तिसहित स्वदेश फर्काउन माग गरेका छन् । कम्पनीले कामदारहरुलाई काममा फर्कन निर्देशन दिएपनि कोही पनि कामदार काममा फर्कन चाहेका छैनन् । ‘कम्पनीका फोरम्यान, सुपरभाइजरहरुले काममा जान भनिरहेका छन् । तर, कोही पनि काम गर्न तयार छैनन् । हामी सबै स्वदेश फर्कन चाहेका छौँ’ उनले भने ।

नेपालबाट आकर्षक सेवा सुविधा पाउने भनेर पठाइए पनि त्यहाँ आफूहरुलाई कम्पनीले ८० केडी मात्रै दिएको बताए । कुवेतकी सार्वजनिक निर्माण मन्त्री डा. राना अल फारिसले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न आदेश दिएकी छन् । अनुन्धानमा कम्पनीले न्यूनतम सुरक्षा मापदण्ड पूरा नगरिएको पाइएमा कम्पनीमाथि कारवाही गरिनेछ । यो कारवाही कम्पनी नै बन्द गर्नेसम्मको हुन सक्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *