कुवेत दुर्घटनाको यथार्थ जानकारी गराउन मानव अधिकार आयोगको आग्रह 

डिसी नेपाल
२ फागुन २०७६ १६:१०

काठमाडौँ । कुवेतमा ६ जना नेपाली कामदारले कार्यस्थलमा ज्यान गुमाएपछि घटनाको यथार्थ जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । बुधवार दिउँसो कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरुले दुर्घटनामा ज्यान गुमाएका थिए ।

घटनाको बारेमा यथार्थ जानकारी दिन भन्दै आयोगले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्राचारसमेत गरेको छ। घटनामा घाइते भएकाहरुको प्रभावकारी र निःशुल्क उपचार गर्न, आवश्यक राहत, क्षतिपूर्ति उपलब्ध गराउनसमेत आयोगले आग्रह गरेको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार  दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेहरूमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । मृतक मध्ये अन्य दुईजनाको विवरण खोजी भइरहेको दूतावासले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घाइते मनोरथ मण्डल उपचारपछि कम्पनीको क्याम्पमा फर्केका छन्। 

आयोगले वैदेशिक रोजगारीमा गएका कामदारहरूको सुरक्षा तथा उनीहरूको मानव अधिकारको सुनिश्चितताको लागि दीर्घकालीन कार्ययोजना र नीति बनाएर आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *