चीन, भूटान र म्यान्माले एसीसी ईस्टर्न रिजन क्रिकेट नखेल्ने

डिसी नेपाल
२ फागुन २०७६ २१:५५

काठमाडौं । चीन, भूटान र म्यान्माले एसीसी ईस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी नहुने बताएका छन् । कोरोना भाइरसको कारण देखाउँदै तीनवटै देशको सरकारले उक्त प्रतियोगिता खेल्न खेलाडीलाई अनुमति नदिएपछि तीनै देशले अन्तिम समयमा आएर प्रतियोगिता खेल्न नसक्ने आयोजक राष्ट्रसमक्ष जानकारी गराएका छन् ।

पूर्वी क्षेत्रीय सो प्रतियोगितामा पुछारका तीन देश चीन, भूटान र म्यान्मा सहभागी नहुने भएपछि बाँकी पाँच देशको टोलीले मात्र प्रतिस्पर्धा गर्ने बताइएको छ । तीनवटै टोली क्रिकेटमा निकै कमजोर मानिन्छन् । प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एसिया टी ट्वान्टी छनोटमा भाग लिनेछन् ।

उक्त छनोट प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टी ट्वान्टी कप प्रतियोगिता खेल्नेछ । एशिया टी ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको लागि नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् । भुवनको चार वर्षपछि टोलीमा पुनरागमन भएको छ । सन् २०१३ मा पहिलोपटक राष्ट्रिय टोलीमा परेका उनले पछिल्लो पटक सन् २०१७ मा बङ्गलादेशमा भएको इमर्जिङ एशिया कप खेलेका थिए ।

आइसिसी विश्वकप क्रिकेट लिग दुई खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा छैनन् । पवन, सन्दीप र किशोरलाई मौका दिइएको छ । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *