दिगो विकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

डिसी नेपाल
५ फागुन २०७६ २२:००

चिप्लेढुङ्गा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्माले दिगो विकास लक्ष्य प्राप्तिका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गण्डकी प्रदेश नीति तथा योजना आयोग र नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजना भएको ‘दिगो विकास लक्ष्य र सञ्चारकर्मी’को भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा शर्माले राजनीतिक मुद्दाभन्दा बढी विकास विषयमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे।

दिगो विकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै उनले दिगो विकास लक्ष्य जनताको जीवनमा संरचनागत परिर्वतन गर्न ल्याइएको विकास एजेण्डा रहेकाले यसको स्थानीयकरण गर्न आवश्यक रहेको बताए । शर्माले सुशासन शिक्षाको विकासमा समेत लाग्न पत्रकारलाई आग्रह गरे।

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले कूल ४७९ सूचक तयार गरेकामा गण्डकी प्रदेश सरकारले १३९ सूचकलाई उपयुक्त मान्दै सोहीअनुरुप योजना बनाइरहेको बताए। यसमा गरिबी अन्त्यका लागि १४, शून्य भोकमरीका लागि आठ, लैङ्गिक समानता १६, गुणस्तरीय शिक्षा १५, स्वास्थ्य तथा कल्याण आठ गरी प्राथमिकताका आधरमा दिगो विकासका १७ वटा लक्ष्यका सूचक तोकिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले योजना कागजीरुपमा बनाउने तर पूरा गर्ने बाटोमा हिँड्ने काम नगरेका कारण खबरदारी आवश्यक रहेको बताए। उनले दिगो विकास लक्ष्यको आगामी १० वर्ष राज्यलाई विकास र समृद्धका बनाउन पत्रकारको कलम चल्ने विश्वास व्यक्त गरे। पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ समृद्धि सबैको साझा लक्ष्य बनाउनसके सफल हुने भन्दै पत्रकारले निरन्तर कलम चलाइरहेको बताए ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि नागरिक संघसंस्था, पत्रकारले राज्यलाई सचेत गराउँदै सहयोगी भूमिका खेल्नुपर्ने भनाइ राख्नुभयो । नेपाल पत्रकार महासंघ कास्की सल्लाहकार रमेश पौडेलले पत्रकारको अबको ध्यान दिगो विकासका लक्ष्य प्राप्तिमा रहने गरी अगाडि बढ्न आग्रह गरे। कार्यक्रम नागरिक समाजका व्यक्तित्व र सञ्चारकर्मी सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *