महरालाई सफाइ, तुम्बाहाम्फेलाई मन्त्री, ‘आरोप गलत सावित भएको छ’

डिसी नेपाल
६ फागुन २०७६ ७:४१

काठमाडौं। शेष घटना र सन्दर्भका कारण विवाद तथा चर्चामा रहेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फेले एकैदिन सफाइ र पद प्राप्त गरेका छन्। बलात्कारको प्रयास गरेको भनी आरोप लागेका महरालाई काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएको छ भने सरकारले तुम्बाहाम्फेलाई कानुनमन्त्री बनाएको छ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले सरकारले लगाएको आरोप दाबी पुग्न नसक्ने उल्लेख गर्दै पूर्वसभामुख महरालाई सफाइ दिएको हो।
संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुव्र्यवहार गर्न खोजेको आरोप लागेपछि महरालाई गत असोज १९ गते पक्राउ गरी हिरासतमा राखिएको थियो। सो आरोप लागेपछि महराले भने सभामुख पदबाट सोही महिनाको १४ गते नै राजीनामा दिएका थिए।

अदालतले सफाइ दिएपछि महरा सोमबार नै डिल्लीबजार कारागारबाट रिहा हुनुभएको छ। अदालतबाट सफाइ पाएको पत्र पाएपछि कारागारले उनलाई रिहा गरेको हो। उनी १ सय ११ दिन कारागार बसेका थिए

सरकारले मुद्दा दायर गरेपछि काठमाडौं जिल्ला अदालतले तारेखमा छुटाउन अस्वीकार गरेको थियो। आफूलाई तारेखमा रिहा गर्न अस्वीकार गरेपछि उनी त्यसविरुद्ध उच्च अदालत पाटन गएका थिए। सो अदालतले पनि उनलाई तारेखमा रिहा गर्न अस्वीकार गर्यो। काठमाडौं जिल्ला अदालतमा भएको अन्तिम बहसमा भने उनीमाथिको आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिइएको छ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पीडित भनिएकी महिलाले अदालतमा वकपत्र गर्दा महराले आफूलाई जबरजस्ती गर्न नखोजेको भनी उल्लेख गरेकीले महरालाई सफाइ दिएको जानकारी दिए।

यसै गरी फरेन्सिक रिपोर्टको आधारबाट पनि महरा निर्दोष देखिएको भनी प्रारम्भिक फैसलामा उल्लेख भएको स्रेस्तेदार श्रेष्ठले बताए। फरेन्सिक परीक्षण गर्दा महराको औंठाछाप नभिडेको भनी उल्लेख भएको बताइएको छ।

यसै गरी पीडित भनिएकी महिलाले आरोप लागेको दिन महरा आफ्नो कोठामा नआएको भनी कागज गर्नुभएको थियो। महराले पनि आफू त्यहाँ नगएको बयानमा उल्लेख गरेका थिए। महरा गत असोज १३ गते ती महिलाको कोठमा गएको आरोप लागेको थियो।

आफूलाई जबर्जस्ती करणी गरेको आरोपमा संसद् सचिवालयकी महिला रोशनी शाहीले प्रहरीमा जाहेरी दिइन्। पछि शाहीले त्यसको ठीकविपरीत हुने गरी अदालतमा कागज गरेकी थिइन्।

जिल्ला अदालत र उच्च अदालत, पाटनले महरालाई थुनामा राख्दा रोशनीको कोठाबाट हतार–हतार निस्कदा जुत्ताको तलुवा छुटेको, घटनास्थलमा भेटिएको चस्माको सिसा र महराले लगाएको चस्माको सिसाको पावर एउटै भएको लगायतका प्रमाणलाई आधार बनाएको थियो। नेपाल कम्युनिस्ट पाटी (नेकपा) ले बलात्कारको आरोप लागेपछि महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब दिएको थियो। तर, उनले सभामुखबाट मात्र राजीनामा दिएका थिए। अदालतबाट सफाइ पाएपछि उनी अब प्रतिनिधि सभामा अन्य सदस्यजस्तै उनले भाग लिन पाउनेछन्। सरकारले भने महरालाई सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिने सम्बद्ध स्रोतले बतायो।

नेताको वाचा भयो पूरा

दबाबपूर्ण रूपमा उपसभामुखको पदबाट राजीनामा गराइएकी डा. शिवमाया तुम्बाहाम्फेलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धता पूरा गरेका छन्। नेकपाले उनलाई पार्टीको केन्द्रीय सदस्यमा समेत मनोनित गरेर पुरानो जिम्मेवारीलाई निरन्तरता दिइसकेको छ।

सरकारबाट समाजवादी पार्टीको बहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएको थिए। उपसभामुख पदबाट राजीनामा घोषणा गरेसँगै तुम्बाहाम्फेले नयाँ भूमिकामा देखापर्ने घोषणा गरेकी थिइन्। सोहीअनुरूप राष्ट्रिय जनता पार्टी तत्काल सरकारमा सहभागी नहुने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाम्फेले सोमबार पदभार सम्हालेकी छन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कानुनमन्त्री तुम्बाहाम्फेले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएकी थिइन। नेपाल समाचारपत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *