सञ्चारमन्त्रीकाे राजीनामाले प्रधानमन्त्री ओलीलाई धक्का

डिसी नेपाल
९ फागुन २०७६ ७:३५

काठमाडौं। सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्। उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका हुन्।

अडियो सार्वजनिक भएसँगै चौतर्फीरूपमा आलोचना र विरोध भएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका थिए। बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए।

भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बाँस्कोटाले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए। लगत्तै कैलालीबाट फर्किएर सीधै बालुवाटार पुगेर बाँस्कोटाले राजीनामापत्र बुझाएका थिए। राजीनामा दिएपछि उनले आफूमाथि नैतिक प्रश्न उठेकाले राजीनामा दिएको बताए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मन्त्री बाँस्कोटा र स्विस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’ को अडियो सार्वजनिक भएपछि उनलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर राजीनामा दिन लगाएका थिए। सरकारले शुरूमा स्विस कम्पनीलाई दिने भने पनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागेपछि अडियो सार्वजनिक भएको थियो।

मन्त्री बाँस्कोटाले दिएको राजीनामा बिहीबार नै स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले उहाँको राजीनामा स्वीकृत गर्दै बाँस्कोटाले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने जानकारी गराएको छ।

कारबाही गर्न कांग्रेसको दबाब

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चारमन्त्री बास्कोटालाई पदबाट बर्खास्त गर्दै कारबाही गर्नुपर्ने माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
बिहीबार बैठक शुरू हुनासाथ कांग्रेसका सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्री बास्कोटाले कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएको बताउँदै यसबारेमा प्रधानमन्त्रीले सदनमा आएर सत्यतथ्य जानकारी गराउनुपर्ने माग गरिन्।

७० करोड कमिसन माग गरेको घटनाले मुलुकको राजनीति तरंगित भएको बताउँदै भुसालले यस विषयमा मा प्रतिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएको बताइन्। नेपाल समाचारपत्र दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *