सम्झौताविपरीत बजार नहटाउन व्यवसायीको माग

डिसी नेपाल
९ फागुन २०७६ १८:२७

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सानो बजार व्यवासायी समूहले सम्झौता विपरीत व्यवसाय गर्न पाउने अधिकारबाट वञ्चित नगराउन माग गरेको छ । समूहको प्रतिनिधमण्डलले नगर प्रमुख सन्तोष चालिसेलाई भेटी जोरपाटी सुन्दरीजल सडकखण्ड विस्तार र नगरपालिकाद्वारा प्रस्तावित बहुउद्देश्यीय भवन निर्माणका लागि सानो बजार खाली गराउने सम्बन्धमा नगरपालिकाले जारी गरेको सूचना सम्झौता विपरीत भएको भन्दै विरोध जनाएको हो ।

सम्झौता कार्यान्वयनलगायत विषयमा फागुन ५ गते दिएको ज्ञापनपत्र पनि नगरपालिकाले बेवास्ता गरेको भन्दै समूहले माग सम्बोधनका लागि आज फेरि ध्यानाकर्षण गराएको हो । समूहका अध्यक्ष बद्रीप्रसाद खतिवडाले ज्ञापनपत्रको सुनुवाइ नभएको बताउनुहुँदै बजार सार्नुअघि उचित वैकल्पिक व्यवस्थाबिना नै बजार खाली गराउने सूचना आएको भन्दै आपत्ति जनाए।

व्यवसायीले सडक विस्तारका क्रममा पर्ने पसल हटाउन शुरु गरिसकेको जानकारी गराउँदै नगर प्रमुख चालिसेलाई बहुउद्देश्यीय भवन निर्माणका लागि भने सबै पसल तत्काल खाली गर्न नसकिने जानकारी गराएको थियो ।

समूहसँगको भेटमा नगर प्रमुख चालिसेले आजै नगरपालिकाका तर्फबाट अर्को सूचना जारी गरी बजार खाली गर्नको लागि पुनः म्याद थप गर्ने प्रतिबद्धता जनाए । फागुन ११ गते व्यवसायीसँग छलफल गरी वैकल्पिक व्यवस्थासहितको बहुउद्देश्यीय भवन निर्माणपछि पुनःस्थापनाको सुनिश्चितताका लागि आफू लिखित प्रतिबद्धता गर्न तयार रहेको आश्वासन दिएको समूहका सचिव विष्णु ढकालले जानकारी दिए।

नगरपालिकाले फागुन २ गते एक हप्ताको समयसीमा तोकेर बजार खाली गर्न सूचना जारी गरेको थियो । फागुन ९ गते अर्थात् आज बेलुकासम्ममा सबै बजार खाली गर्न निर्देशन दिँदै बजार खाली नगरे फागुन १० गते नगरपालिकाले नै बजार खाली गराउने सूचना प्रकाशित गरेको थियो । गत भदौ ११ गते नगरपालिका र समूहबीच २०७७ असार मसान्तसम्म बजार राख्न दिने सम्झौता भएको थियो ।

बजार खाली गर्नुभन्दा तीन महिना अगावै नगरपालिकाले जानकारी गराउनुपर्ने बुँदा पनि सम्झौतामा उल्लेख छ । बजारमा १६० पसल छन् । बजारमा कपडा, जुत्ता चप्पल, कस्मेटिक, ब्याग, इलोक्ट्रोनिक्स सामानलगायत पसल छन् । बजार चलाएबापत साविकको जोरपाटी गाविस हुँदै हालको गोकर्णेश्वर नगरपालिकालाई मासिक भाडा बुझाउँदै आएको समूहले जनाएको छ । २२ मिटर सडक विस्तारका क्रममा सानो बजारका थुप्रै पसल पर्ने भएपछि नगरपालिकाद्वारा प्रस्तावित भूमिगत पार्किङसहितको अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण हुनेमा भने नगरवासी नै विश्वस्त हुनसकेका छैनन् ।

जोरपाटी चोकसँगैको सार्वजनिक जग्गामा बजार बनाइ विसं २०५८ मा गाविसले भाडामा लगाएको थियो । बजार बनाउँदा वरिपरिबाट मिचिएको सार्वजनिक जग्गा संरक्षणमा सहयोग पुगेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *