दुई भालेको भिडन्तमा जित्ने भालेका मालिककै मृत्यु

डिसी नेपाल
११ फागुन २०७६ १५:३६

काठमाडौं। भारतको पश्चिम बंगालमा एक व्यक्तिले भाले जुधाइको क्रममा ज्यान गुमाएका छन् । जित्ने भालेका मालिककै मृत्यु भएको हो । मृतकको नाम असीम महतो भएको आज तकले लेखेको छ । घटना पश्चिम बंगालको पुरुलिया जिल्लाको रुद्रा गाउँको हो ।

स्थानीय सूत्रका अनुसार हरेक वर्ष यहाँ चर्चित भालेजुधाइ आयोजना गरिन्छ । यहाँ छिमेकी राज्य झारखण्डसहित आसपासका क्षेत्रका मानिसहरु सहभागी हुन र हेर्न आउँछन् । बिहीबार पनि यहाँ हजारौंको संख्यामा मानिसहरु भालेजुधाइ हेर्न आएका थिए । रुद्रा गाउँका असीम पनि आफ्नो भाले लिएर सहभागी हुन आएका थिए ।

भाले जुधाइमा असीमको भालेले जित्यो । उनी आफ्नो जित्ने भालेलाई समातेर मैदानमा उभिएका थिए । यही बेला भाले फुत्किन खोज्दा उसको खुट्टामा बाँधिएको धारिलो ब्लेडले काटेर असीम घाइते भए । घाइते उनलाई हुंडा प्रखंड स्वास्थ्य केन्द्र लगियो । त्यहाँ उनको हालत गम्भीर पाइएपछि उनलाई पुरुलिया सदर अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो ।

असीमका परिवारका अनुसार भालेको खुट्टामा बाँधिएको ब्लेडमा एक किसिमको विष लगाइएको थियो । जसको सम्पर्कमा आएपछि असीमको शरीरमा विष फैलियो र उनको मृत्यु भयो । शुक्रबार पुरुलिया सदर अस्पतालमा शवको पोष्टमार्टम गरियो । भाले जुधाइको यो खेललाई भारतमा अवैध घोषित गरिएको छ । यो खेलमा असीमको मृत्यु भएपछि अवैध खेल संचालन गर्दा रोक नलगाएको भन्दै प्रशानको आलोचना भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *