महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ

डिसी नेपाल
११ फागुन २०७६ १८:३६

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका देश विदेशका साधुसन्तलाई बिदाइ शुरु गरिएको गुठी संस्थानले जनाएको छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले धुनीका लागि दाउरा र खानाको व्यवस्था गरी साधुसन्तलाई बिदाइ गर्न लागिएको पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

साधुलाई श्रीमहन्त, महन्त, लालमोरिया नागाबाबा, सामान्य जोगीलगायत वर्गमा वर्गीकरण गरी रु ९५१ देखि रु १५१ सम्म दक्षिणा दिन शुरु गरिएको छ । आज सम्भव नहुनेलाई भोलिसम्म पनि दक्षिणा दिएर बिदाइ गरिने उनले बताइन्।

यसवर्ष पशुपतिमा करिब चार हजार साधुसन्त आएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । संस्थानले दक्षिणासहित बिदाइ गरेसँगै कोषका तर्फबाट पनि थप दक्षिणा दिइने उनले सुनाए।

संस्थानले वर्गीकरण गरेका साधुसन्तलाई कोषले एक हजार एकदेखि पाँच हजार एकसम्म दक्षिणा दिने जनाइएको छ । कोषका तर्फबाट रुद्राक्ष मालाले बिदाइ गरिनेछ । संस्थानले दिने गरेको दक्षिणा कम भएको गुनासो साधुसन्तले गर्न थालेपछि कोष स्थापनापछि थप गरिएको हो ।

विसं २०६४ अघिसम्म कालमोचनघाटबाट दक्षिणा दिई साधुसन्तको बिदाइ हुँदै आएकामा त्यसयता दोहोरो नपरोस् भनी पशुपति परिसरबाटै बिदाई गर्न थालिएको संस्थानका सूचना अधिकारी सरोज थपलियाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *