चिटिक्क घरमा बस्न पाएर दङ्ग छन् सन्थाल समुदाय

डिसी नेपाल
१२ फागुन २०७६ ९:२८

सुरुङ्गा। ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका लागि घर निर्माण गरिदिएको छ।

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गाउँपालिकासँगको साझेदारीमा घर निर्माण गरी हस्तान्तरण गरिएकोे जानकारी दिए। झापा गाउँपालिका–१ लसुनाका सन्थाल समुदायका लागि प्रतिघर रु दुई लाख २० हजार खर्च गर्दै घर निर्माण गरिएको सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए।

ह्याविट्याड फर ह्युमानेटी नेपालको ७५ हजारसहित झापा गाउँपालिकाको ७५ हजार र घर धनीको जनश्रमदान तथा सहाराको प्राविधिक टोलीले घर निर्माण गरेको उहाँले जानकारी दिए।

विपन्न समुदायले नयाँ घरमा बस्न पाएसँगै खुशी व्यक्त गरेका छन् । वर्षौंदेखि फुसको छानो र बाँसको टाटीमा माटोले लिपेर बस्न हुने मात्रको घरमा बस्दै आएका लसुनावासीका लागि सहकारीको अगुवाइमा भुई ढलान, पिल्लर, उपचार गरेर बलियो बनाएको बाँस र जस्तापात प्रयोग गर्दै घर निर्माण गरिएको छ।

सो गाउँपालिकाले सहारासँगको सहकार्यमा अहिले थप १०० घर निर्माण शुरु भएको जनाएको छ । गत वर्ष पनि ९० वटा घर निर्माण भएको अध्यक्ष साहाले जानकारी दिए।

योसँगै सहारा नेपालले झापा र मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा ६०० वटा घर निर्माण गर्ने काम भइरहेको कार्यकारी निर्देशक गिरीले बताए। आगामी वर्ष एक हजार २०० घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने सहकारीको लक्ष्य रहेको जनाइएको छ।

साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरबाट अहिले झापाका विपन्न समुदायका नागरिक चिटिक्क टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको तीन कोठा घरमा बस्न पाउँदा दङ्ग छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *