कोरोनाले सहकर्मीको ज्यान लिएपछि कोरियामा नेपाली त्रसित, नेपाली सुरक्षित रहेको प्रशासनको दावी

डिसी नेपाल
१२ फागुन २०७६ १२:१९

काठमाडौँ । चीनबाट फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड–१९) ले दक्षिण कोरियामा उग्र रुप लिएपछि यहाँ कार्यरत नेपाली त्रसित छन् । सोमबार बिहानसम्म कोरानाले ७ जनाको ज्यान लिएको छ । ७ सय ६३ जना संक्रमित भएको पुष्टि भएको छ। यो रहस्यमयी भाइरसले दक्षिण कोरियालाई समेत ‘रेड अलर्ट’मा पुर्याएको छ।

गएको शनिबार कोरोनाभाइरसका कारण कोरियाको थेगुको एक मोटर पार्टस् कम्पनीमा चालकको काम गर्ने एक कोरियन नागरिकको मृत्यु भएको थियो । करिब ३ सय मजदूर कार्यररत यो कम्पनीमा १६ जना नेपाली युवा पनि काम गर्थे । सहकर्मीको कोरोनाले ज्यान लिएपछि उनीहरु निकै आत्तिएका छन् । आफूहरुलाई असुरक्षित महसुस भएपछि उनीहरुले स्वदेश फर्कन चाहेका थिए । मृतक कोरियन सहकर्मीबाट अरु कसैलाई सरेको भए आफूहरुलाई पनि सर्न सक्ने भन्दै त्रसित थिए ।

तर, त्यहाँको स्थानीय प्रशासनले कुनै पनि माध्यमबाट मृतक कोरियन कामदार नेपाली कामदारसँग सम्पर्कमा नरहेको दावी गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अध्यक्ष यज्ञराज सुवेदीका अनुसार कम्पनी एउटै भएपनि मृतक कोरियन नागरिक र नेपाली कामदारको कुनै पनि सम्पर्क नरहेको त्यहाँको स्थानीय प्रशासन बताएको छ । ‘नेपाली कामदारको अवस्थाको बारेमा बुझ्न मैले थेगुको स्थानीय प्रशासन र सरुवा रोग नियन्त्रणको कार्यलयमा सम्पर्क गरेको थिएँ । नेपाली कामदार सुरक्षित रहेको जानकारी आएको छ,’ सुवेदीले डिसी नेपालसँग भने ‘ मृतक कोरियन र नेपाली कामदारको कम्पनी एउटै भएपनि नजिकको सम्पर्कमा रहेनछन् । सजग हुनु पर्ने भएपनि आत्तिनु पर्ने अवस्था छैन ।’

उनका अनुसार कम्पनीमा कामदारको कोरोनाको कारण ज्यान गएपछि उनको मृत्यु बारेमा रोग नियन्त्रण कार्यालयले अध्ययन गरेको थियो । सबै कामदार, कम्पनी प्रशासनको बयान लिएको थियो । बयान र अन्य डकुमेण्टका आधारमा अनुस्धान गर्दा मृतक कोरियन र नेपाली कामदारको कुनै किसिमको सम्पर्क थिएन । कम्पनीले सोमबारदेखि कामदारहरुलाई काममा फर्काएको छ । ‘त्यो मृतक मान्छे र उहाँहरु (नेपाली कामदार) का बीच कुनै सम्पर्क नरहेको पाइएपछि सोमबारदेखि काममा फर्काएको छ । कम्पनी परिसरमा कोरोनाको जीवाणु मार्ने स्प्रेहरु छर्केर नेपाली कामदारलाई काममा फर्काइएको छ ’ सुवेदीले भने ।

कम्पनीले अहिले नेपाली कामदारलाई पनि सकेसम्म बाहिर नजान आग्रह गरेको छ। शंका लागेमा तुरुन्त सम्पर्क गर्नलाई ‘टोल फ्री’ नम्बर दिइएको छ। कम्पनीले नेपालीहरुलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न भनेको छैन। उनीहरु पहिल्यै जसरी एउटा कोठामा तीनजना बस्दै आएका छन्। कम्पनीले सुरक्षित भन्दै काममा फर्काए पनि नेपाली कामदार तनाव र त्रासमा रहेको सुवेदीले बताए।

संक्रमितको संख्या ह्वात्तै बढेपछि कोरियामा रहेका अन्य नेपालीहरू पनि त्रसित भएका छन्। प्रकोप फैलिएपछि सौलस्थित नेपाली दूतावासले नेपालीहरुलाई सतर्क रहन आवह्रान गर्दै आएको छ । कोरोनाले महामारीको रूप लिएपछि त्यहाँका कतिपय कम्पनी ठप्प भएका छन् । अधिक मात्रामा भीडभाड हुने ठाउँ अहिले सुनसान छन्। सरकारले पनि अत्यावश्यक काम बाहेक बाहिर नहिँड्न अपिल गरेको छ । शहरहरूमा दैनिक उपभोग्य खाद्यान्न, तरकारी लगायतका समानहरुको अभाव हुन थालेको छ। त्यस्तै मार्ट लगायतका मार्केट पनि बन्द गरिएको छ। बजारमा सर्जिकल मास्कको पनि अभाव छ।

अहिलेसम्म दक्षिण कोरियामा सबैभन्दा बढि प्रभाव देखिएको क्षेत्र हो डाइग (थेगु) हो । त्यहाँ नेपालीको संख्या धेरै रहेको बताइन्छ । डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको संक्रमण बढ्दो रुपमा देखिएको भन्दै मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन्।

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार गत फेब्रुअरी ९ तारिखका दिन भाइरस संक्रमित एक महिला थेगुमा रहेको शिन्छेङ्गी चर्चमा प्रार्थनाका लागि पुगेपछि त्यहीँबाट संक्रमणले महामारीको रुप लिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *