धार्मिक पर्यटन समृद्धिको आधार : गृहमन्त्री थापा

डिसी नेपाल
१२ फागुन २०७६ २१:०१

दमौली । गृहमन्त्री रामबहादुर थापाले समृद्धिको आधार धार्मिक पर्यटन रहेको बताएका छन् । देवघाट क्षेत्र विकास समितिले सोमबार तनहुँको देवघाट गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले नेपाल समृद्धि र विकासको चरणमा प्रवेश गरिसकेको उल्लेख गरे।

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको लक्ष्यलाई पूरा गराउन नेपालका धार्मिक क्षेत्रहरुले पनि महत्वपूर्ण योगदान दिने गृहमन्त्री थापाको भनाइ थियो । ‘नेपालीलाई छिटोभन्दा छिटो सुखी र खुशी बनाउन चाहन्छौँ’, गृहमन्त्री थापाले भने, ‘वर्तमान सरकार सोही दिशामा अगाडि बढिरहेको छ ।’

नेपाल सभ्यताको केन्द्र रहेको चर्चा गर्दै गृहमन्त्री थापाले धार्मिक पर्यटन प्रवद्र्धनका लागि केन्द्र सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। ‘विश्वका अन्य मुलुकमा सभ्यताको भर्खरै शुरुआत भएको छ तर हामी सभ्यतामा निकै धनी छौँ’, गृहमन्त्री थापाले भने, ‘तर हामीले आफ्नो सभ्यता चिन्न नसकेको स्थिति छ ।’

देवघाट गाउँपालिकाले मदिराको अनियन्त्रित बिक्री वितरण रोक्न थालेको पहल सकारात्मक रहेको बताउँदै गृहमन्त्री थापाले मदिराको अनियन्त्रित सेवनले समाजमा हिंसा उत्पन्न गराउने बताए। कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललगायतले देवघाटको विकासका लागि सङ्घीय सरकारको तर्फबाट पहल हुनुपर्ने धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *