साइबर अपराध सचेतना अभियान प्राथमिकतामा

डिसी नेपाल
१९ फागुन २०७६ ८:४०

पोखरा । सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक अपराध बढिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले यसको न्यूनीकरणका लागि साइबर अपराधसम्बन्धी सचेतना अभियानलाई विशेष प्राथमिकतामा राखेको छ।

समुदाय साझेदारी अभियानअन्तर्गत १२ वटा विषयलाई प्राथमिकतमा राखेर अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले साइबर अपराधलाई दोस्रो नम्बरको प्राथमिकतामा राखेको हो।

लागुऔषध पहिलो र साइबर अपराधलाई दोस्रो नम्बरमा राखेर अभियानलाई तीव्रता दिएको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए ।

यसैगरी सडक सुरक्षा एवं सवारी सचेतना, लैङ्गिक सचेतना, मानव बेचबिखनलगायत १२ विषयलाई प्राथमिकतामा राखेर अभियान नै सञ्चालन गरिएको उनले बताए ।

प्रहरी प्रमुख कार्कीले महिनामा झण्डै ४५/५० वटा उजुरी जिप्रकामा आउने गरेको छ । तीमध्ये अधिकाँश लागुऔषध र साइबर अपराधसंग सम्बन्धीत रहेको जानकारी दिए ।

उनले भने, “अधिकांश फेसबुक म्यासेन्जरबाट गालीगलौज, डर धम्की, सेक्सुयल ह्यारासमेण्ट, राम्रो सम्बन्ध रहँदा गोप्य च्याट सम्बन्ध बिग्रिएपछि बाहिर ल्याइदिने भन्दै गरिने ब्लाकमेलिङ गर्ने गरेकोलगायत विषयमा उजुरी आउने गरेको छ।”

नेपालमा काठमाडौँबाहेक अन्यत्र साइबर अपराध सम्बन्धीे मुद्दा दर्ता गर्न नमिल्ने र साइबर अपराध जाँच्ने डिजिटल फरेन्सिक पनि नभएकाले यससम्बन्धी मुद्दा काठमाडौँ अदालतमा मात्र दर्ता गरिने बताइएको छ।

कास्कीमा आएका उजुरीलाई गहिरो अनुसन्धान र पर्याप्त प्रमाणलाई हेरेर मुद्दा चलाइने पनि उनले बताए।

प्रहरी प्रमुख कार्कीका अनुसार आव २०७६/७७ मा आधा दर्जन मुद्दा यहाँबाट काठमाडौँ अदालतमा दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले अभियानलाई प्रभावकारी बनाउन समुदायको साझेदारीमा हरेक वडा, टोल, पालिका, महानगर, जिल्लामा समिति बनाएर सचेतना अभियान सञ्चालन गरिएको बताए ।

प्रत्येक महिना ३० भन्दाबढी स्कूल कलेजमा यो अभियान सञ्चालन गर्दै आएको र अहिलेसम्म ७०० भन्दा बढी कक्षामा यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।

अभियानका कारण आम नागरिक सचेत भएपछि पछिल्लो समयमा यस सम्बन्धी उजुरी दिनेको सङ्ख्या पनि बढ्दै गएको उनले जानकारी दिए ।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराईले सामाजिक सञ्जालको बढ्दो प्रभाव र यसको उपयोगभन्दा दुरुपयोग हुँदै गएको सन्दर्भमा स्कूल कलेजका विद्यार्थीलाई यसबाट कसरी जोगिनेका साथै यसको दुरुपयोग गर्दा हुने कानूनी सजायको बारेमा कार्यक्रम गर्दै आएको बताए ।

भट्टराईले सेवा केन्द्रको आफ्नो क्षेत्राअधिकारभित्र पर्ने स्कूलमा यो अभियानका कार्यक्रम गरिएको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *