सानी छोरीको समय चोरेरै भएपनि राष्ट्र निर्माणमा सानो योगदान गर्न खोजेका हौँ : ‘धुर्मुस’

डिसी नेपाल
२१ फागुन २०७६ १२:२०

काठमाडौं। हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले रंगशालालाई सहयोग गर्ने मन भएका तर माध्यम नभएका जोकोहीका लागि चलचित्र ‘सेन्टी भाइरस’ गतिलो माध्यम भएको बताएका छन्।

कलाकारिता हुँदै समाजसेवामा सक्रिय ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ दोस्रो सातामा प्रदर्शनरत छ।

चलचित्रले प्रदर्शनको ९ दिनमा ४ करोडमाथि कमाई गरेको निर्र्माण पक्षले सार्वजनिक गरिसकेको छ। चलचित्र हेर्न अहिलेपनि हलमा दर्शकको चाप छ। स्कूल तथा संघ, संस्थाहरुले रंगशाला निर्माण अभियानमा सहयोग गर्न हल नै बुक गरेर समेत चलचित्र हेरिरहेका छन्। चलचित्रको ब्यापारबाट भएको नाफाको ५० प्रतिशत रंगशाला निर्माणमा खर्च गरिँदैछ।

‘धुर्मुस’ले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै बाँकी रहेका दर्शकले पनि चलचित्र हेरेर रंगशाला निर्माणमा सहयोग पुर्याउने कुरामा आशा ब्यक्त गरेका छन्। ‘तपाईँले मनोरञ्जनका निम्ति तिरेको रकमबाट रङ्गशालालाई सानो भए पनि सहयोग पुग्नेछ। त्यसैले हेर्न बाँकी रहनुभएका दर्शकले पनि आगामी दिनमा चलचित्र हेरी रङ्गशालालाई सहयोग पु¥याउनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ’– ‘धुर्मुस’ले लेखेका छन्।

आफूहरुले निजी स्वार्थलाई तिलाञ्जली दिएर सामूहित स्वार्थलाई अंगालेको बताएका छन्। ‘रङ्गशाला निर्माण गर्दा होस् या चलचित्र निर्माण गर्दा, हामीले सानी छोरीलाई यथोचित समय प्रदान गरेर जिम्मेवार अभिभावक बन्न सकेका छैनौँ’ उनले अगाडि लेखेका छन् ‘एउटी छोरीको समय चोरेरै भएपनि हजारौँ छोराछोरीको भविष्य अनि लाखौँ छोराछोरीको भावी खुसीलाई रोजेर राष्ट्र निर्माणमा सानो भए पनि योगदान गर्न खोजेका हौँ।’

‘धुर्मुस’ले ‘सेन्टी भाइरस’ निर्माणको उद्धेश्य अरु चलचित्रसंगको प्रतिस्पर्धा नभएको भन्दै केवल कलाको सम्मान गर्दै रंगशालालाई सहयोग पुर्याउनु रहेको बताउँछन्। उनले आगामी दिनमा अझ फरक शैली र स्वादका चलचित्र पँस्कदै जाने बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *