कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा

डिसी नेपाल
२२ फागुन २०७६ १४:४३

क्यालिफोर्निया। संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन्। ती व्यक्ति हालै क्रुज जहाजको यात्राबाट फर्किएका हुन्।

ह्वाइट हाउसले यस रोगको परीक्षणलाई देशव्यापी विस्तार गर्ने बुधबार जानकारी दिएको छ। अमेरिकाका १६ वटा राज्यमा करिब १५० जनामा कोरोना भाइरस देखिएको थियो।

विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको संख्या ९२ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० हजार चीनमा रहेको बिबिसीले जनाएको छ। हाल विश्वभर कोराना पीडित ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वासिङ्टन राज्यका रहेका छन् र पछिल्लो समय यो रोग टेक्सास र नेब्रास्का राज्यमा पनि फैलिएको छ।

यसैबीच वासिङ्टन र फ्लोरिडा राज्य दुबैले गत साता नै स्वास्थ्य आपतकालको घोषणा गरिसकेका छन्।क्यालिफोर्नियामा मृत्यु भएका कोरोना सङ्क्रमित बृद्ध व्यक्ति ग्रान्ड प्रिन्सेज नामको क्रुजमा यात्रारत रहेका व्यक्ति थिए । यो जहाज सानफ्रान्सिस्को हुँदै मेक्सिको पुगेको थियो।

कोरोनाको त्रास फैलिएसँगै संयुक्तराज्य अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । तर चीन छाडेको १४ दिन पछि भने त्यस्ता यात्रुलाई अमेरिका प्रवेश गर्न दिइने गरिएको छ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार कुनै चिकित्सकले कुनै व्यक्तिको परीक्षण गर्ने बताएको खण्डमा त्यस्ता व्यक्तिले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्नै पर्ने बताएका छन्।

विश्वभर कोरोनाको त्रास

चीनपछि कोरोनाले सर्वाधिक प्रभाव पारेको मुलुक दक्षिण कोरिया हो। बुधबार मात्र यहाँ ५१६ जनामा कोरोनाका जीवाणु देखिएको छ। योसहित कोरियामा कूल सङ्क्रमित व्यक्तिको संख्या ५ हजार ७६६ पुगेको छ। कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ।

कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए।

अस्ट्रेलिया सरकारले दक्षिण कोरियाबाट आउने सबै विदेशी नागरिकको प्रवेशमाथि रोक लगाएको छ । अस्ट्रेलियामा पनि कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ भने अरु ५३ जनामा कोरोना सङ्क्रमण भएको छ।

चीनमा भने बुधबार १३९ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छन् भने ३१ जनाको मृत्यु भएको छ। यी सबै व्यक्ति चीनको हुबे प्रान्तका रहेका छन्।  इटालीमा भने विद्यालयहरु १० दिनका लागि बन्द गरिएका छन् ।

बिहीबार मात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरस प्रभावित मुलुकहरुको सहायताका लागि ५० अर्ब अमेरिकी डलरको सहायता गर्ने घोषणा गरेको छ । कोषले कोरोनाको त्रासबीच विश्वको आर्थिक वृद्धि सन् २०१९ मा २.९ प्रतिशतभन्दा कमै हुने अनुमान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *