जापानबाट कोरिया हुँदै नेपाल आएका युवालाई ज्वरो, कोरोनाको आशंकामा अस्पताल भर्ना

डिसी नेपाल
२३ फागुन २०७६ ७:११

सुर्खेत। काठमाडौँबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००‍‌ दशमवल ५ डिग्री सेल्सियस ज्वरो देखिएको हो ।

जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए । उनले भने, “ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था रहेको छैन । ”

प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको हो ।

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ ।

नेपालमा पनि कोरोना भाइरस ९कोभिड – १९० संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो ।

नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करिब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल माक्स मौज्दात नरहेको जानकारी दिए ।

“डिलरमै माक्स छैन्, हामीसँग भएको पनि सकियो,” उनले भने, “एक महिनादेखि माक्स ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।”

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घअन्तर्गत फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाको माक्सहरु पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिए । कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उनले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *