पुस्तकबिना नै विद्यालय जान्छन् विद्यार्थी

डिसी नेपाल
२३ फागुन २०७६ २१:३५

जुम्ला। सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ का विद्यार्थी पुस्तकबिना नै विद्यालयमा पढ्न आउने गरेका छन् । जुम्लालगायत हिमाली जिल्लामा पर्ने मुगु, कालीकोट, डोल्पा र हुम्लामा नयाँ शैक्षिक सत्र २५ माघदेखि शुरु हुने भए पनि यहाँका सामुदायिक विद्यालयका विद्यार्थीले फागुन तेस्रो सातासम्म पुस्तक नपाएकाले पुस्तकबिना विद्यालय आउने गरेका हुन् ।

सिञ्जा गाउँपालिकास्थित कैलाश मावि फुङग्रका प्रधानाध्यापक विष्णुलाल रोकायाका अनुसार कक्षा १ को पाठ्यपुस्तक छापिएर नआएका कारण विद्यार्थीलाई वितरण गर्न नसकिएको हो । उनले भने, “अरू सबै कक्षाका विद्यार्थीलाई पुस्तक वितरण भइसकेको छ ।” कक्षा १ को पुस्तक किन नआएको भन्ने प्रश्नमा प्रधानाध्यापक रोकायाले भने, “पहिला पुस्तक छापिएको तर पछि पुनः पाठ्यक्रम परिर्वतन आएर आएपछि फेरि पुस्तक छाप्नुपर्ने भएकाले ढिलो भएको छ ।”

“त्यसैगरी कक्षा ४ को सामाजिक र नेपाली केही पुस्तक अपुग भएकाले स्टेशनरीबाट ल्याइने व्यवस्थापन गरेका छौँ”, उनले भने, “एक÷दुई दिनमै विद्यालयमा पुस्तक पुग्नेछ । यस विद्यालयमा तीन सय ३० जना जति विद्यार्थी छन् ।’

पानीको समस्या छैन तर शौचालय भने समस्या रहेको उनले बताए। एउटै ठाउँमा दुई ढोका गरेको छात्रछात्राको प्रायोजनका लागि शौचालय भए पनि नजिकै भएकाले छात्रा शौचालय जान अप्ठ्यारो मानेर बाहिरै खुला दिसापिसाब गर्ने गरेको उनले बताए ।

श्री मावि जोडुका प्रधानाध्यापक नरबहादुर बुढाका अनुसार कक्षा ४ को नेपाली पुस्तक १५ थान अपुग भएको छ । उनले भने, “विद्यार्थीको सङ्ख्यामा तलमाथि भएकाले केही पुस्तक अपुग भएको हो । छिट्टै विद्यालयमा ल्याउने व्यवस्थापन गरेका छौँ । विद्यालयमा अरू खासै समस्या छैन । शिक्षक विद्यार्थी नियमति विद्यालयमा उपस्थित छन् पढाइ निरन्तर भइरहेको छ ।”

सिञ्जा गाउँपालिकाको तत्कालीन नराकोट गाविसअन्तर्गत रहेका १२ विद्यालायमा पुस्तक वितरणको जिम्मेवारी लिएका पुस्तक बिक्रेता मोहनविक्रम शाहीका अनुसार कक्षा १ को पुस्तक नै नछपाएकाले वितरण नभएको हो । कक्षा ६, ७ र ८ को पुस्तक पनि रङ्गीन हुनुपर्ने हो तर छैनन् । केही दुई÷चार पुस्तक मात्रै रङ्गीन छन् अरू सबै पुरानो पठाएको अनुमान गरेको उनले बताए।

जुम्ला जिल्लाभरि पुस्तक बिक्री गर्दै आएका जिपी स्टेशनरीका बिक्रेता गणेश रोकायाले भने, “कक्षा १ को पुस्तक आएको छैन । नयाँ पाठ्यक्रम परिर्वतन भएर आएकाले पुस्तक छाप्न समय लाग्ने भएको बुझिन आएको छ । अरू सबै कक्षाका पाठ्यपुस्तक आइसकेका छन् धेरै विद्यालयमा वितरण पनि भइसकेको छ ।”

पातारासी गाउँपालिका शिक्षा शाखा संयोजक झनमाया खत्रीका अनुसार विद्यालयमा पाठ्यपुस्तक पुगेको छ तर पाठ्यक्रम परिवर्तन भएकाले नेपाली माध्यममा पढाइ हुने विद्यालयमा कक्षा १ को पुस्तक पुगेको छैन । जुम्लामा एक सय ७० सामुदायिक विद्यालयमध्ये कक्षा १ देखि ५ आधारभूत विद्यालय ९२, कक्षा १ देखि ८ आधारभूत विद्यालय ३१, कक्षा १ देखि १० मावि ३१ र कक्षा १ देखि १२ मावि १६ वटा रहेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *