विकासको मूल फुट्न थाल्यो : मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
२४ फागुन २०७६ २१:०८

लमजुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विगतमा विकासबाट मुलुक पछाडि परे पनि अहिले विकासको मूल फुट्न थालेको बताएका छन्।

बेँसीशहर नगरपालिका–७ स्थित यहाँका गुरुङ समुदायको मनाङे चौतारा तमु समाजको नवनिर्मत दुईतले भवनको उद्घाटन गर्दै उनले भने, “वर्तमान सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को महान अभियान लिएर विकासका मूल फुटाउन थालेको छ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले पनि स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलगायतका क्षेत्रमा लगानी गरिरहेको जानकारी दिए।

कार्यक्रममा संविधानसभा सदस्य जमिन्द्रमान घले, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, क्व्होलासोथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेलगायतले यस्ता भवन निर्माणले समाजमा हुने भोजभतेर, सभालगायतका कार्यक्रम गर्नलाई सहज पुर्याउने बताएका थिए । पक्की दुईतले समाजको भवनले निर्माणअघि ट्रष्ट हालेर यस समाजको विभिन्न कार्यक्रम गर्दै आए पनि असहज भएको र यस सुविधासम्पन्न भवनले आगामी दिनमा विभिन्न कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम गर्दा सहज हुने मनाङे चौतारा आमा समूहका अध्यक्ष विमला गुरुङले बताइन्।

रु ८१ लाख पाँच हजार ५३५ को लगानीमा करिब एक रोपनी क्षेत्रफलमा सो दुईतले पक्की भवन निर्माण भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष ढङ्कबहादुर गुरुङले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *