अस्ट्रेलियामा १ नेपाली विद्यार्थीमा कोरोनाभाइरस संक्रमणको पुष्टि

डिसी नेपाल
२५ फागुन २०७६ १०:०३

काठमाडौं। रुघाखोकीको लक्षण देखिएपछि सेल्फ आइसोलेसनमा बस्न अस्वीकार गरेर अस्ट्रेलियाको होबार्टमा एउटा ठूलो होटलमा काम गरिरहेका नेपाली युवामा कोरोनाभाइरसको पुष्टि भएको छ । ती नेपाली २० वर्षका विद्यार्थी भएको बताइएका छन् । उनी फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर हुँदै होबार्ट पुगेको अस्ट्रेलियाको मिडिया सेभेनन्यूजले जनाएको छ । उनी अस्ट्रेलिया पुग्दा उनीमा कोरोनाभाइरससँग मिल्दो लक्षण देखिएको थियो ।

उनले शुक्रबार परीक्षणका लागि नमूना दिएका थिए । नमूना संकलन गरेपछि उनलाई सेल्फ क्वारेन्टाइनमा बसेर रिपोर्ट पर्खन भनिएको थियो तर उनले यो सल्लाहलाई बेवास्ता गर्दै होबार्टको ग्राण्ड चान्सलर होटलमा काम गरिरहेका थिए । शनिबार अबेर राती आएको रिपोर्टमा उनीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य विभागले होटलमा ती नेपाली अन्य कुनै सहकर्मीसँग नजिकको सम्पर्कमा रहेको र उनीबाट अरु कसैमा संक्रमण सरेको हुन सक्ने आशंकामा होटलका कर्मचारीको परीक्षण र आइसोलेसनमा राख्नको लागि काम गरिरहेको छ । ती नेपालीले गत हप्ता होटलमा एउटा मात्र शिफ्ट नभइ धेरै शिफ्टमा काम गरेको र अस्ट्रेलियन आइडियल कजेजमा कक्षा समेत लिएको पाइएको समाचारमा जनाइको छ ।

‘कोरोनाभाइरस परीक्षणको रिपोर्ट पर्खिरहेका बेला सार्वजनिक क्रियाकलापलाई निरन्तरता दिनु वा काम गर्न जानु अस्वीकार्य हुन्छ’ त्यहाँका जनस्वास्थ्य निर्देशक डा. मार्क भिचले भने । ती नेपाली अहिले होबार्टको रोयल होबार्ट अस्पतालमा सन्तोषजनक अवस्थामा आइसोलेसनमा भएको स्वास्थ्य विभागले जनाएको छ । उनी तस्मानियामा दोस्रो संक्रमित हुन् । यसअघि ४० वर्षका एक व्यक्तिमा पनि संक्रमण देखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *