ह्यारिसको समर्थन बाइडेनलाई, जेस्सी ज्याक्सन स्यान्डर्सको प्रचारमा
वासिङ्टन । क्यालिफोर्निया राज्यकी सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिका आकाँक्षी जो बाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गरेकी छन्। गत डिसेम्बरमै उम्मेदवारी परित्याग गरेकी ह्यारिसले बाइडेनलाई जिताउन आफूले सक्दो मद्दत गर्ने पनि बताएकी छन् ।
अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार छनौटको दौडमा अब पूर्व उपराष्ट्रपति जो बाइडेन र सिनेटर बर्नी स्यान्डर्स मात्र रहेका छन् । दुबैमध्ये एक जनाले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लीकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।
यही मङ्गलबार छ वटा राज्यमा चुनाव हुनुअघि ह्यारिसको घोषणा हुनुले बाइडेनलाई फाइदा पुग्ने अनुमान गरिएको छ । अमेरिकी दुई ठूला राज्यहरु मिसिगन र मिसिसिपी समेत छ वटा राज्यमा चुनाव हुँदैछ ।
गत मंगलबार सम्पन्न १४ वटा राज्यको चुनावले धेरै उम्मेदवारलाई पाखा लगाएको थियो । यीमध्ये १० वटा राज्यमा बाइडेनले चुनाव जितेका थिए भने क्यालिफोर्निया समेत ४ राज्यमा स्यान्डर्स विजयी भएका थिए ।
स्यान्डर्सलाई पछिल्लो पटक नागरिक अधिकारका पक्षमा वकालत गर्ने अमेरिकी विशिष्ट अश्वेत नागरिक जेसी ज्याक्सनले समर्थन गरेका छन् । मिसिगनको ग्रान्ड र्यापिड्समा आयोजित चुनावी सभामा स्यान्डर्ससँगै ज्याक्सन उपस्थित भएका थिए।
स्यान्डर्सको चुनावी अभियानले प्रकाशन गरेको विज्ञप्तिमा ज्याक्सनलाई स्यान्डर्सले गरेको आमन्त्रणलाई सहर्ष स्वीकार गरेको तर बाइडेनले ज्याक्सनलाई एक पटक पनि नसम्झेको उल्लेख छ ।
बाइडेनका पूर्व प्रतिस्पर्धीहरु एमी क्लोबुचार, पिट बुटिजिज, बेटो ओरुर्की, माइक ब्लूमबर्ग, टिम रायन, डेभाल प्याट्रिक र जोन डिलानीले उम्मेदवारी परित्याग गरी बाइडेनलाई समर्थन गरेका छन् । स्यान्डर्सलाई भने मारिएन विलियम्सन र बिल डी ब्लासिओले समर्थन गरेका छन् ।
यसैबीच, आइतबार मिसिसिपीका दुई जना वरिष्ट डेमोक्र्याट्स पूर्व गभर्नर रे माबुस र पूर्व राष्ट्रपति बिल क्लिन्टनको कार्यकालका कृषि मन्त्री माइक एसपीले पनि बाइडेनलाई समर्थन गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment