मीटू लगाउने तनुश्री दत्ताविरुद्ध नाना पाटेकरले हाले २५ करोडको मानहानी मुद्दा

डिसी नेपाल
२९ फागुन २०७६ १५:२७

मुम्बइ। बलिउड अभिनेता नाना पाटेकरको गैर सरकारी संस्था नाम फाउण्डेशनले अभिनेत्री तनुश्री दत्ताविरुद्ध २५ करोडको मानहानी मुद्दा हालिदिएको छ । यससँगै बाम्बे हाइकोर्टले तनुश्रीलाई प्रेस कन्फ्रेन्समा नाना पाटेकरको नाम र फाउण्डेशनविरुद्ध आरोप लगाउन रोक लगाएको छ । तनुश्रीले यसअघि पनि फाउण्डेशनमाथि भ्रष्टाचारसहितका गम्भीर आरोप लगाइसकेकी छिन् ।

मुद्दाको पहिलो सुनुवाइमा तनुश्री अनुपस्थित भएपछि न्यायाधीश एके मेननले फाउण्डेशनलाई राहत मिल्ने गरी आदेश दिएका हुन् । नाना पाटेकर र मकरंद अनासपुरेले २०१५ मा गठन गरेको यो गैर सरकारी संस्थाले आफूले सुख्खा प्रभावित क्षेत्रमा किसानलाई राहत मिल्ने काम गरिरहेको तर तनुश्रीले २०२० मा गरेको एक प्रेस कन्फ्रेन्समा लगाइएको आरोपले फाउण्डेशनको प्रतिष्ठामा क्षति पुगेको दावी गरिएको छ ।

यसअघि २०१८ मा तनुश्रीले नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाउँदै भारतमा मीटू अभियान अन्तर्गत पहिलो आरोप लगाएकी थिइन् । पुलिसले उनको आरोपपछि अनुसन्धान गर्दै उनको आरोप गलत भएको ठहर गरेर केस बन्द गरिदिएको थियो । केस बन्द गर्ने निर्णयविरुद्ध तनुश्री पुनः अदालत पुगेकी थिइन् जुन अहिलेसम्म अदालतमा चलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *