यूएईमा बस्ने नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

डिसी नेपाल
२९ फागुन २०७६ १६:१८

यूएई । कोरोनाको संक्रमणबाट बच्न यूएईमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ।

यूएईमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै बिहिबार अबुुधाबी स्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै संक्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो। यूएईमा करीब ३ लाख नेपाली विभिन्न पेशाव्यवसायमा संलग्न छन्।

दूतावासले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गरेको छ।

त्यस्तै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको संक्रमणभएका वा श्वासप्रश्वाससम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि दूतावासले आग्रह गरेको छ।

कोरोना नियन्त्रण नआएसम्म स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखि अत्यावश्यक काममा बाहेक बाहिर ठूला जमघट हुने ठाउँमा हिँडडुल नगर्न पनि दूतावासले अनुरोध गरेको छ । त्यस्तै कोरोना संक्रमणको विषयलाई लिएर आत्तिने वा तनाव लिने भन्दा सतर्कता अपनाउने कुरामा बढि ध्यान दिन समेत दूतावासले सुझाव दिएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। जसमध्ये १७ जना उपचारपछि निको भएका छन्। २ जनाको अवस्था गम्भिर छ। संक्रमित मध्ये २ जना त्यहाँ काम गर्न गएका नेपाली रहेको यूएईको स्वास्थय मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *