मुस्ताङमा पाँचौं पटकको हिमपातसँगै जनजीवन प्रभावित
पोखरा । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ।
दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन्।
मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार उपल्लो मुस्ताङलगायतका क्षेत्रमा भने तीन फिटसम्म हिउँ जमेको छ।
हिउँसँगै जोमसोम बजारमा बिजुलीको खम्बा ढलेका कारण यहाँ हिजोदेखि नै विद्युत् आपूर्ति बन्द भएको छ।
जोमसोम विमानस्थलमा डेढ फिट हिउँ जमेका कारण आज पोखराबाट कुनै पनि उडान हुन नसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
आज दिनभर हिउँ नपग्लिए भोलि भने सुरक्षाकर्मीको सहयोगमा हिउँ पन्छ्याएर विमानस्थल नियमित गराउने तयारी गरिएको उनले बताए ।
हिमपातसँगै जोमसोम भित्रने नाका घाँसा र म्याग्दीको गुइँठे तातोपानीमा हिजोदेखि नै बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन्।
मुस्ताङमा यस वर्ष पटक–पटक हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका रेञ्जर धनु गुरुङले जानकारी दिए।
यसवर्ष मुस्ताङमा पाँचौं पटक हिउँ परेको जानकारी गराउँदै उनले छ वर्षको अन्तरालमा धेरै हिउँ परेको अनुभव सुनाए ।
हिमपातका कारण अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत मुस्ताङ निस्कने थोराङपास पनि बन्द भएको छ।
हिमपातका कारण खेतीलाई राम्रै गरे पनि टुसाउँदै गरेका बोट वृक्षलाई भने क्षति पुर्याएको ठिनी गाउँका मुखिया तिकप्रसाद थकाली बताउँछन्। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment