पोखरामा गीतकार प्रतिष्ठान गठन

डिसी नेपाल
३ चैत २०७६ १३:३४

पोखरा । पोखरामा क्रियाशील गीतकारहरु सङ्गठित भएका छन् । क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेका छन्।

खनिया लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील छन् ।

खनियाको ‘दोष’ एल्बमका ‘मैले बा आमा त्यागेर रोजेको मायाले मलाई धोका दिई, सबको पिरतीमा दरबार हुन्छ,’ लगायत गीत चर्चित छन्।

त्यसैगरी समितिको उपाध्यक्षमा शीतल गिरी रहनुभएको छ । उनको ‘मविना कसैकसैलाई मुस्किल छ पोखरामा,’ गीत निकै चर्चित छ।

महासचिवमा अनुराग अधिकारी चयन भएका छन् । उनको ‘नानीको चञ्चले बानीले बिगार्यो…, ‘कहिले फूल बनी फक्रेर फुलूँ भन्छ मन…’ लगायत गीत चर्चित छन्।

प्रतिष्ठानको कोषाध्यक्षमा बिर्सना बस्नेत, सचिवमा रुपिन्द्र प्रभावी तथा सदस्यहरुमा रेशम रचक, देवी त्रिपाठी, मिर्मिसा पराजुली, जीवन पण्डित, प्रकाश अधिकारी र लाल कार्की ‘अञ्जान’ चयन भएका छन् ।

यसैबीच प्रतिष्ठानको बैठकबाट सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पँगेनी ‘शिव’, डा. कृष्णहरि बराल र हरिदेवी कोइरालालाई सल्लाहकारमा चयन गरिएको छ।

प्रारम्भिक चरणको भेलामा उपस्थित गीतकारहरुमध्येबाट समिति गठन भएको र आगामी दिनमा पोखरा र पोखराबाहिर क्रियाशील विभिन्न गीतकारहरुलाई संस्थामा समेट्दै अघि बढ्ने योजना रहेको महासचिव अधिकारीले जानकारी दिए ।

विभिन्न विधागत संस्थाहरु स्थापना भइसकेको पोखरामा गीतसम्बन्धी विधागत संस्थाको आवश्यकता बोध भएर यो अभियानमा लागेको अध्यक्ष खनियाले बताए ।

उनले गीतकारको हकहितका लागि कार्य गर्ने, गीतकारको अस्तित्व र पहिचानको खोजी गर्नेलगायत उद्देश्य रहेको प्रतिष्ठान कुनै संस्थाको शाखा नभई स्वायत्त संस्था हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *