लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार

डिसी नेपाल
३ चैत २०७६ २२:५२

रुपन्देही । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार भएको छ । प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना प्रदेश योजना आयोगले तयार गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शङ्कर पोखरेल समक्ष सोमबार प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले अस्पतालको गुरुयोजना बुझाएका हुन्। गुरुयोजना बुझ्दै मुख्यमन्त्री पोखरेलले प्रदेश योजना आयोगले सरकारको एउटा अवधारणालाई मूर्तरुप दिने काम पूरा गरेको भन्दै अब योजना पूरा गर्नु सरकारको जिम्मेवारी भएको बताए।

यो योजना पूरा गर्न केन्द्र र प्रदेश सरकार मिलेर स्रोत व्यवस्थापन गर्ने उनको भनाइ छ । मुख्यमन्त्री पोखरेलले बुटवललाई व्यावसायिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउँदै भने, “व्यवसायीले पनि जुन अवस्थामा बसेका छौँ त्यही अवस्थामा बस्न पाउनुपर्छ भन्ने चिन्तन हटाउनुहोस्, यो पुरानो चिन्तन हो । यसलाई सरकारले स्वीकार्न सक्दैन ।” मुख्यमन्त्री पोखरेलले सरकारले टहरा भत्काएको कुरामा कुनै अफसोंच नगर्न आग्रह गरे ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ सुविधासहित अत्याधुनिक भवन निर्माणका लागि गुरुयोजना तयार गरिएको बताए । गुरुयोजना प्रस्तुत गर्दै इन्टेरियर इञ्जिनीयर विष्णु पन्थीले विशेषज्ञ सुविधासहित अस्पतालको मुख्य भवन र अन्य संरचना निर्माणका लागि १४ अर्बको बजेट अनुमान गरिएको जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *