इराकको कुर्दिस्तानमा कर्फ्यु, नेपालीहरू कोठाभित्रै बस्न बाध्य

डिसी नेपाल
४ चैत २०७६ १७:०८

कुर्दिस्तान । चीनबाट फैलिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) ले इराकको कुर्दिस्तानमा पनि आतंक मच्चाउन थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ । कुर्दिस्तान सरकारले कोरोनाको संक्रमण फैलिन नदिन भन्दै कर्फ्यु जारी गरेपछि यहाँको जनजीवन कष्टकर बनेको हो ।

कोरोनाभाइरस फैलिने सम्भावित खतरालाई ध्यान दिँदै गएको शुक्रबार कुर्दिस्तान सरकारले इर्बिल र सुलेमानी शहरमा ४८ घण्टा कर्फ्यु लगाएको थियो। तर, कर्फ्यु समय अवधि नसकिँदै ७२ घण्टा बढाएर बिहीबार मात्र कर्फ्यु खोलिने जनाइएको छ। आवश्यक देखिएमा यो अवधि बढाउन सकिने बताइएको छ ।

कर्फ्यु लागेपछि सुलेमानी र इर्बिल शहर पुरै सुनसान छ। यातायात ठप्प छ । व्यापारिक मल,कलकारखानालगायत अन्य सबै व्यवसाय पूर्ण रुपमा बन्द छन्।त्यस्तै उड्डयन प्राधिकरणले मार्च १७ बेलुका ६ बजेदेखि मार्च २४ सम्मका लागि अन्तराष्ट्रिय उडान पनि बन्द गराएको छ ।

कुर्दिस्तानमा नेपाली कामदारहरूको संख्या उल्लेख्य मात्रामा छ । यहाँ गैरकानुनी रुपमा नेपालीहरू पुगेकाले आधिकारिक तथ्यांक छैन । इराकको सबैभन्दा बढी कामदार रहेको क्षेत्र हो कुर्दिस्तान । कर्फ्युका कारण यहाँ रहेका नेपाली कोठा भित्रै बस्न बाध्य भएका  ।कोरोनाले गर्दा व्यापारिक मल, रेष्टुरेन्ट, क्याफे, बार बन्द हुँदा धेरै नेपाली कामदारहरू  कोठा भित्रै सीमित हुन् पुगेका छन्।

यहाँ धेरै नेपाली कामदारहरू बाहिर स्वयम् कोठा लिएर बस्ने भएपनि अहिले कम्पनीहरूले आफ्नै मातहत कम्पनीमा राखेको छ । केही नेपाली भने कोठामा नै बसेका छन् ।

कुर्दिस्तानमा घरेलु कामदारको रुपमा काम गर्नै नेपाली महिलाहरू पनि छन् । घरेलु महिला कामदारको हप्तामा एक पटक शुक्रवार बिदा हुन्छ । कतिपयले भने महिनामा एक पटक मात्रै बिदा पाउँछन् । हाल घरेलु कामदार कसैलाई पनि बिदा दिइएको छैन् । महिना भर घरमा काम गरेर एक पटक बाहिर निस्कन पाउँदा हुने खुशी गुम्दा दुख लागेको डोमा शेर्पा बताउँछिन्। त्यस्तै अर्की नेपाली महिला सोम लमु तामाङले आफूले बन्दी जीवन बिताइरहेको महसुस भएको बताइन् ।

कुर्दिस्तानमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ ।हालसम्म २९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। जसमध्ये ५ जना उपचारपछि निको भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *