एउटै विद्यालयमा ३१ अक्षयकोष स्थापना

डिसी नेपाल
५ चैत २०७६ ११:२५

बागलुङ । बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा ३१ अक्षयकोष स्थापना भएका छन्। विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ३१ शिक्षाप्रेमी तथा शुभेच्छुकले रु १५ लाख १७ हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन्।

बागलुङ नगरपालिकाभित्र यती धेरै सङ्ख्यामा अक्षयकोष स्थापना गर्ने सो विद्यालय पहिलो बनेको छ। विद्यालयको समग्र शैक्षिक गुणस्तरमाथि उठाउन, विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न र विभिन्न छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न व्यक्तिले अक्षयकोष स्थापना गरी सहयोग गरेको सो विद्यालयका प्रधानाध्यापक गोपालकुमार शर्माले जानकारी दिए ।

शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्न जरुरी भएको र त्यसका लागि कोषले महत्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ छ। “आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ”, उनले भने, “विद्यालयमा स्थापना गरिएका अक्षयकोषले कयौँ विद्यार्थीको अध्ययनमा सहयोग पुर्याएको छ।”

प्रधानाध्यापक शर्माका अनुसार अक्षयकोषले विद्यार्थीलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ। यसले विद्यार्थीलाई अध्ययन गर्न ठूलो सहयोग पुग्नेछ । विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षयकोष रकम गरिब, विपन्न, जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

विभिन्न समय र सन्दर्भ पारेर अक्षयकोषको ब्याज रकमबाट गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले सहयोग गर्ने क्रम बढेपछि विद्यार्थी र अभिभावक पनि उत्साहित देखिएका छन्।

अध्यक्ष खड्काका अनुसार, विद्यालयमा रु तीन हजारदेखि दुई लाख २२ हजारसम्मका अक्षयकोष स्थापना भएका छन्।

विद्यालयलको शैक्षिक विकासका लागि स्वतस्र्फूतरूपमा पूर्वशिक्षक, समाजसेवी, शिक्षाप्रेमीलगायतले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गरिएको छ।

भौतिक पूर्वाधारमा सम्पन्न देखिने यस विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म अध्ययन, अध्यापन भइरहेको छ।

पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधि शिक्षाको गुणस्तर सुधारमा सक्रिय छन्।

विसं २०११ मा स्थापना भएको विद्यालयमा विसं २०४५ देखि हालसम्म ३१ अक्षयकोष स्थापना भएका हुन्। विद्यालयमा कूल ३२० विद्यार्थी अध्ययनरत छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *