३० हजार घुससहित कास्की जिल्ला अदालतका श्रेस्तेदार पक्राउ

डिसी नेपाल
६ चैत २०७६ ९:१०

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ।

आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग रु ३० हजार घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको हो।

आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको बताइएको छ।

शुरुमा रु ५० हजार मागेका उनले छलफलका क्रममा रु ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको स्रोतले जनाएको छ।

श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको बताइन्छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *