सशस्त्र प्रहरीद्वारा ७७ जिल्लामा क्वारेन्टाइन निर्माण

डिसी नेपाल
६ चैत २०७६ १४:३६

काठमाडौं। सशस्त्र प्रहरीले सर्वसाधारण र सशस्त्र प्रहरी दुवैलाई प्रयोग गर्न मिल्ने गरी ७७ वटै जिल्लामा क्वारेन्टाइन निर्माण गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना ) भाइरसविरुद्धको पूर्व तयारीका लागि सो क्वारेन्टाइन निर्माण गरेको हो।

तीन दिनदेखि सशस्त्र प्रहरी बलले मातहत निकायलाई क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएको थियो। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) बच्नको लागि सशस्त्र प्रहरी बलले ७७ जिल्लामै क्यारेन्टाइन निर्माण गरेको जनाएको छ।

सर्वसाधारण तथा प्रहरी दुवैलाई हुने गरी कोठा तयारी अवस्थामा राखिएको छ। सीमा क्षेत्रमा यात्रु जाँचमा सशस्त्र प्रहरीलाई समेत खटाइएको छ।

सरकारले सशस्त्र प्रहरीलाई स्वास्थ्यकर्मीलाई सहयोग गर्नसमेत निर्देशन दिएको छ। त्यस्तै, संक्रमण देखिएमा आकस्मिक जिम्मेवारीका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ। प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले कार्यालयहरुमा बिशेष सतर्कता अपनाइएको बताए।

कार्यालयहरुमा थर्मल गनबाट ज्वरो नाप्न थालिएको छ भने सचेतना बढाइएको छ। सीमा क्षेत्रमा सबैभन्दा बढी क्वारेन्टाइन बनाउनु पर्ने भएकाले केन्द्रबाट चिकित्सकहरुको टोली समेत खटाउन लागिएको पनि सशस्त्र प्रहरीले जनाएको छ।

‘सशस्त्र प्रहरी बल अस्पतालबाट चिकित्सकहरुको टोली पनि पठाउन लागिएको छ’, डिआइजी श्रेष्ठले भने। सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीकै भएकाले सरकारले थप कडाइ गर्न निर्देशन दिइसकेको छ।

गृहमन्त्रालयले सीमा नाकामा सशस्त्र प्रहरीलाई चेकजाँच कडाई गर्न निर्दैशन दिएपछि अहिले नेपाल भारत खुला सीमा क्षेत्रमा पनि सशस्त्र प्रहरीले गस्ती बढाएको छ। ‘सीमा क्षेत्रमा तत्कालका लागि केही जनशक्ति थपेर पठाएका छौ’, सशस्त्र प्रहरी प्रवक्ता डिआइजी श्रेष्ठले भने।

एक हप्ता अघि देखिनै सशस्त्र प्रहरीले सबै तयारी गर्दै आएकोमा जनशक्ति थप सहित सीमा नाका र खुला क्षेत्रमा गस्ती बढाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *