विदेशमा भएका नेपालीलाई नेपाल प्रवेशमा प्रतिवन्ध लगाउनु व्यवाहरिक होइन : कुमार पन्त

डिसी नेपाल
७ चैत २०७६ १२:१५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले विदेशमा भएका नेपालीलाई नेपाल प्रवेशमा प्रतिवन्ध लगाउनु व्यवाहरिक नभएको बताएका छन् ।

विश्वव्यापी प्रकोप बनेको कोरोना भाइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न गठित संघको उच्चस्तरीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् । पछिल्लो महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल फर्कन लगाइएको रोक व्यवहारिक नभएको उनको भनाइ छ ।

अध्यक्ष पन्तको संयोजकत्वमा बिहीवार बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रभाव र विदेशमा रहेका नेपाली समुदायमा पर्ने असरका वारेमा छलफल भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

बैठकमा अध्यक्ष पन्तले कोरानो भाइरसको संक्रमणपछि संघको तर्फबाट भएका कार्यहरुको जानकारी दिएका थिए । उनले कोरोना संक्रमणले विदेशमा रहेका विद्यार्थी तथा बैदेशिक रोजगारमा रहेका नेपाली समुदायले चरम कठिनाई भोग्नुपर्ने अवस्था आउन लागेको बताउँदै सम्वन्धित सबै पक्षलाई सहयोगको लागि अपील गरेका थिए ।

बैठकमा कोरोना भाइरसका कारणले उत्पन्न आर्थिक तथा समाजिक पक्षलाई पार्न सक्ने कठिनाइमा केन्द्रीत रहेर अल्पकालीन तथा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ ।

चीनमा महामारीको रुपमा फैलिएको कोरोन भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो ।

कोरोनाको संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाई रोक्न भन्दै नेपाल सरकारले प्रभावित सबै देशहरुबाट नेपाल आउने यात्रुहरुलाई शुक्रबारदेखि पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

अप्रिल १५ तारिखसम्मका लागि युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने नेपालीसहित सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *