कोरोना कहरः ठमेलमा व्यवसाय ठप्प भएपछि घरभाडा र कर मिनाहा हुने आशामा व्यवसायी

धनकुमार कार्की
७ चैत २०७६ १५:२१

काठमाडौँ। पर्यटकको घुइँचो लाग्ने पर्यटकीय नगरी ठमेल यतिबेला विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा परेको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई लिएर ठमेलका व्यवसायीमा निकै उत्साह थियो। व्यवसायीले सोही अनुसारको तयारी पनि गरेका थिए। तर अहिले भने ठिक विपरित अवस्था ठमेलमा छ।

सरकारले नेपालमा कोरोनाको जोखिम बढेसँगै नेपाल भ्रमण वर्ष २०२० साथै सगरमाथा संवाद पनि स्थगित गरेको छ।  साथै ६६ देशका नागरिकलाई आवागमनमा रोक लगाएको छ।

योसँगै पर्यटनसँग जोडिएका ठमेलमा सम्पुर्ण व्यवसायी संकटमा परेका हुन्। कतिपय होटल बन्द भएका छन् भने कतिपय दिनभर खोलेर हाइ काढ्दै बस्न बाध्य भएका छन्।

बिहीबार साँझ ठमेलमा फ्रेन्स किचन रेष्टुरेन्टका सञ्चालक सुरेश बलामी रेष्टुरेन्टको एक कुनामा निराश हुँदै मोबाइल चलाएर बसिरहेका थिए। रेष्टुरेन्टमा व्यापार नभएपछि कसरी घरभाडा तिर्ने भन्ने चिन्ताले उनलाई सताएको छ। उनी भन्छन्– व्यापार ठप्प छ, बिजुलीको बिल तिर्न पनि गाह्रो होला जस्तो छ। सरकारले यो समयको कर मिनाहा गरेर घरभाडा सहुलियत गरिदिए राम्रो हुन्थ्यो।’

कोरोना त्रास फैलिएसँगै घटेको पर्यटकको संख्या यतिबेला भने शून्यजस्तै भएको छ। गत वर्ष यही सिजनमा दैनिक करिब ६० हजार व्यापार हुने ज्याठास्थित फ्युजन किचन रेष्टुरेन्टमा हिजोआज दैनिक करिब ६ हजारको व्यापार हुने गरेको छ।

त्यहाँका कामदारको खर्च मात्र बढी निस्केपछि अधिकांश कामदारलाई पेडलिभमा पठाइएको छ। दिनभरको व्यापारले भएका कादारलाई खर्च धान्न पनि नपुग्ने कुरा त्यहाँका सञ्चालक सुरज भण्डारीले बताए।

उनले भने, ‘बिजुलीको बिल मात्र मासिक १५ जनार जति उठ्छ, पानी पनि त्यस्तै १५ हजार जत्तिकै खपत हुन्छ, यस्तै हो भने त गाह्रो हुन्छ। घरभाडा कसरी तिर्नु?’

बिहीबार साँझ ठमेलको फ्युजन किचन रेष्टुरेन्टमा चार जना ग्राहक देखेर सँगैको होटलका गाडी चालक छक्क पर्दै ग्राहक देख्दा पनि अचम्म लाग्न थालेको बताउँछन्।

यस्तै धादिङ घर भएका मम्स होम र फ्रे्रन्ड्स होम होटलका सञ्चालक राजेन्द्र सापकोटा होटलमा ग्राहक शून्य भएपछि केही कामदारलाई होटल हेर्न लगाएर शुक्रबार धादिङ हिँडे। उनलाई पनि यस बिषयमा अब सरकारले मात्र हेर्न सक्छ भन्ने लाग्छ।

उनी भन्छन्, ‘सरकारले पर्यटन व्यवसायीले बैंकको व्याज, किस्ता र घरभाडा तिर्न सक्ने अवस्था नभएकाले कम्तीमा ६ महिना सम्मलाई सरकारले जिम्मा लिएर ६ महिना पछि मात्र तिर्ने व्यवस्था गरिदिए पर्यटनमा लगानी गरेकाहरुको सुरक्षा हुन्छ।’

अधिकांश होटल र रेष्टुरेन्टका सञ्चालकहरु अब सरकार र भगवानको भरोसामा रहेको बताउँदै आफूहरुलाई सरकारले केही पहल गरिदिने आशामा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *